अराजक राजावादी, कोल्याप्स सुरक्षा संयन्त्र

काठमाडौं : शुक्रबार दिउँसो काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पुनर्स्थापनाका लागि दबाब दिन भन्दै राजावादी समूहले विरोध प्रदर्शनको कार्यक्रम राख्यो।
शुक्रबारै समाजवादी मोर्चाले पूर्व राजा ज्ञानेन्द्रको सक्रियताको विरोधमा विरोध सभा राखेको थियो। स्थानीय प्रशासनले मोर्चालाई भृकुटीमण्डप क्षेत्रमा सभा गर्न अनुमति दियो। राजावादीहरूलाई तीनकुने छुट्यायो।
तीनकुनेमा खाली रहेको स्थानमा विरोध कार्यक्रम गर्न आयोजकले मञ्च बनाएका थिए। उनीहरूको तयारी हेर्दा तीनकुनेमा सभा गर्ने, विरोध प्रदर्शन गर्ने र हिँड्ने जस्तो देखिन्थ्यो।
विरोध सभाको प्रारम्भ मञ्चमा भाषणहरूबाटै शुरू भयो। मञ्चमा हालै घोषणा गरिएको राजसंस्था पुनर्स्थापना आन्दोलनका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिमा रहेकाहरूले उत्तेजक भाषण गरे।
सभामा सहभागीहरूलाई हिंसात्मक घटनाका लागि उत्तेजित बनाउन अब युद्ध शुरू गर्नुपर्ने लगायतका शब्द प्रयोग गरियो। सभामा श्रीनिवास लगायतका विवादित धर्मगुरूहरू समेत देखिए, जो हिन्दु राज्य बनाउन सक्रिय छन्।
विरोध प्रदर्शनको कमान्डर ८६ वर्षीय नवराज सुवेदी थिए। यता मञ्चमा भाषण भइरहेकै बेलामा सडकमा प्रदर्शनकारी र प्रहरीबीच ढुङ्गा हानाहान शुरू भइहाल्यो।
प्रहरीले प्रदर्शनकारीहरूलाई भगाउन टियर ग्याँस हान्न थाल्यो। अनि मञ्चमा रहेका सुवेदी लगायतका नेताहरु हतार-हतार मञ्चबाट तल ओर्लिन थाले। सुवेदीलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बल्ल-बल्ल मञ्चबाट तल ल्याएर सडकसम्म पुर्याए।
प्रदर्शन उग्र र हिंसात्मक बन्दै गयो। सुरक्षाकर्मीहरू लुकेर बसेको भनेर प्रदर्शनकारीहरूले नजिकैको एक घरमा तोडफोड शुरू गरे। सिसा फुटाइदिए अनि आगो लगाइदिए। त्यही आगोमा परेर पत्रकार सुरेश रजक मारिए।
त्यति बेलासम्म विरोध प्रदर्शनको आयोजकहरू सडकमा अराजक भीड छाडेर हिँडिसकेका थिए। प्रदर्शनकारीहरूले राजतन्त्रको पक्षमा र मुख्य राजनीतिक दलका नेताविरुद्ध उग्र नाराबाजी गरे।
प्रदर्शनकारीहरूले प्रहरीले नयाँबानेश्वरतिर आउन नदिन बनाएको सुरक्षा ब्यारिकेट भत्काउने प्रयास गरिरहे।
आयोजकमध्येका एक दुर्गा प्रसाईंले सुरक्षा घेरा तोड्न गाडी चलाएर प्रहरीमाथि जाइलागे। उनी गाडी लिएर सुरक्षा घेरा तोड्दै गए। गाडीभित्रबाटै प्रदर्शनकारीहरूलाई आओ-आओ भन्दै सुरक्षा घेरा तोड्न उक्साइरहे।
प्रदर्शन उग्र हुँदै गएपछि प्रहरीले अश्रुग्याँस सँगै गोली समेत चलायो। तीन जना प्रदर्शनकारी गोली लागेर घाइते भए। एक जनाको मृत्यु भयो। दुई जना उपचारमा छन्।
प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारीहरू तितरबितर हुँदै अन्यत्र छरिए। उनीहरू जताजता गए तोडफोड र आगजनी गर्दै हिँडे। सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रण गर्नै सकेनन्।
पेरिसडाँडातिर लागे माओवादी केन्द्रको कार्यालय तोडफोड गर्न। तर, सकेनन्। एकीकृत समाजवादीको कार्यालय तोडफोड गरे। त्यहाँ भित्र भएका कागजात र सोफा सडकमा ल्याएर आगो लगाएर ध्वस्त बनाए।
उनीहरूले कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुङ्गामुढा गरे। नजिकै रहेको अन्नपूर्ण दैनिकको कार्यालयका सिसा फुटाए। आगो लगाउने प्रयास गरे। तर बेलैमा आगो नियन्त्रणमा लिएकाले ठूलो क्षति हुन पाएन।
उता कोटेश्वरतिर लागेको अर्को समूहले भाटभटेनी लुटे। प्रहरी बेलामा पुग्न सकेन। भाटभटेनीको सुरक्षामा खटिएका निजी सुरक्षाकर्मीले लुटपाटमा संलग्नहरूलाई रोक्ने प्रयास गरे। तर सकेनन्।
अर्को समूह जडिबुटी चोकमा पुग्यो। नजिकै जडिबुटी प्रशोधन केन्द्रको कार्यालय थियो। ढुङ्गा हानेर कार्यालयको सिसा फुटाए अनि आगो लगाइदिए।
सुरक्षा रणनीति असफल
प्रदर्शनमा सहभागीहरू को-को छन् अनि उनीहरूले कुन तहसम्मको गतिविधि गर्न सक्छन् भनेर सुरक्षा रणनीति निर्माण गर्न सुरक्षा संगठन चुक्दा क्षति बढी देखियो।
हिन्दु राष्ट्र बनाउनका लागि हिन्दु धर्मावलम्बीहरूलाई उत्तेजित गराउन आफैँलाई गोली हानेर हत्या प्रयास भयो भन्ने तहको अफवाह फैलाउने श्रीनिवासदेखि अराजकता फैलाउन जुनसुकै तहमा जानसक्ने दुर्गा प्रसाईंसम्म संलग्न हुने कार्यक्रमको सम्भावित सुरक्षा चुनौतीको विश्लेषणमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पूरै असफल देखियो।
प्रदर्शनको सुरक्षाका लागि प्रहरीले स्थानीयको घरको प्रयोग गर्यो। जसको परिणाम सर्वसाधारणको सम्पत्ति प्रदर्शनकारीको निसानामा पर्यो। स्थानीयको घरमा तोडफोड शुरू हुँदा नियन्त्रणमा लिन असफल प्रहरी त्यही घरमा आगो लाग्दा रमिते बन्न पुग्यो।
प्रहरीको रणनीति कुन तहको थियो भन्ने त दुर्गा प्रसाईंले सहजै सुरक्षा घेरा तोडेर गएबाटै देखियो। प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिन सकेनन्। गाडीले किच्ने प्रयास गर्दा निरीह देखिए।
उग्र प्रदर्शनकारीहरू तितरबितर भएर फैलँदा हुनसक्ने क्षति र बढ्ने चुनौतीबारे प्रहरीले न विश्लेषण गरेको देखियो न आकस्मिक सुरक्षा रणनीति नै बनाएको देखियो। जब नेपाल प्रहरी अनि सशस्त्र प्रहरी सुरक्षा व्यवस्थापनमा असफल भयो अनि प्रशासन कर्फ्यू लगाउन बाध्य भयो र सडकमा सेना उतार्यो।
चैत १५, २०८१ शुक्रबार २२:३१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।