गृहले भन्यो 'तीनकुनेको प्रदर्शन अमानवीय, कानुन उलङ्घन गर्नेमाथि कार्वाही हुन्छ’

गृहले भन्यो 'तीनकुनेको प्रदर्शन अमानवीय, कानुन उलङ्घन गर्नेमाथि कार्वाही हुन्छ’

काठमाडौँ : गृह मन्त्रालयले शुक्रवार तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवार सम्बन्धित आयोजकै हुने र कानुन अनुसार कार्वाही गर्ने बताएको छ।

शुक्रवार विज्ञप्ति जारी गर्दै मन्त्रालयले शुक्रवार तीनकुनेमा भएको घटनालाई अमानवीय एवं अमर्यादित भन्दै कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास भएको उल्लेख छ।

हिंसात्मक प्रदर्शनप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र लगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीका अमानवीय एवं अमर्यादित घटनाहरू गैरकानूनी तथा घोर भर्त्सनायोग्य रहेको उल्लेख छ।

‘यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार छन्’ विज्ञप्तिमा भनिएको छ ‘शान्तिपूर्ण तरिकाले विचार प्रकट गर्ने लोकतान्त्रिक विधिको सट्टा हिंसापूर्ण एवं अराजनीतिक खालका गतिविधिहरूबाट कोही कसैको भलाई हुँदैन। अतः यस प्रकारका अमानवीय र गैरकानूनी गतिविधिमा संलग्न नहुन आम नागरिकलाई हार्दिक अपिल गर्दै कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई पनि कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्ने कार्यमा सरकार प्रतिबद्ध छ।’

चैत १५, २०८१ शुक्रबार २१:३५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।