राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु, २२ जना घाइते, मृतकमध्ये एक पत्रकार

राजावादीको आन्दोलनमा दुई जनाको मृत्यु, २२ जना घाइते, मृतकमध्ये एक पत्रकार
पेटमा गोली लागेका प्रदर्शनकारी। तस्बिर : दिपेश श्रेष्ठ।

काठमाडौँ : राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन उग्र हुँदा दुई जनाको मृत्यु भएको छ। एक जनाको गोली लागेर मृत्यु भएको हो। अर्का एक जनाको शव तीनकुनेमा प्रदर्शनकारीले आगो लगाइदिएको घरमा फेला परेको थियो। 

प्रहरीका अनुसार घाँटीमा गोली लागेर उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका लागि लगिएका सविन महर्जनको मृत्यु भएको हो। उपचारका लागि ल्याउँदा नै उनको मृत्यु भइसकेको थियो। उनी २९ वर्षका हुन्।

प्रहरी बसेको भन्दै प्रदर्शनकारीले तोडफोड गर्दै आगो लगाइदिएको तीनकुनेको एक घरमा पत्रकारको शव फेला पर्यो।  घरमा फेला परेको शव एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक रहेको खुलेको छ। घरमा लागेको आगो निभाएपछि शव फेला परेको हो। शव डढेर चिन्न नसकिने अवस्थामा छ।

उनी घरबाट आन्दोलनको भिडियो खिच्न जानेक्रमम प्रदर्शनकारीले आगो लगाइदिएपछि घरमै फसेका थिए। प्रदर्शनका क्रममा २२ जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनालाई गोली लागेको छ। गोली लागेका दुवै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

राजतन्त्रको माग गर्दै राजावादीहरूको आयोजनामा भएको आन्दोलन उग्र हुँदा प्रदर्शनकारीहरूले स्थानीयको घरमा आगो लगाइदिएका थिए। उनीहरूले एकीकृत समाजवादीको कार्यालयमा समेत आगो लगाइदिए। जडीबुटीमा रहेको जडीबुटी प्रशोधन कारखानामा समेत उनीहरूले आगो लगाएपछि कर्मचारीहरू भागेर ज्यान जोगाएका थिए।

प्रदर्शनकारीहरूले लुटपाट समेत गरेका थिए। उनीहरूले कोटेश्वरमा रहेको भाटभटेनी फोडेर सामान लुटेका थिए। प्रदर्शन उग्र भएपछि प्रदर्शनको आयोजना गरेका राजावादी नेताहरू प्रदर्शनस्थलबाट भागेका थिए भने प्रदर्शनकारीहरू अराजक भएका थिए।

चैत १५, २०८१ शुक्रबार १९:४४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।