राजावादीको प्रदर्शनमा तोडफोड, लुटपाट र आगजनी, प्रदर्शनकारी उग्र भएपछि नेता भागे

राजावादीको प्रदर्शनमा तोडफोड, लुटपाट र आगजनी, प्रदर्शनकारी उग्र भएपछि नेता भागे
तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ : राजतन्त्रको पक्षमा वकालत गर्दै आएको समूहको आव्हानमा तीनकुनेमा भएको विरोध प्रदर्शनमा सहभागीहरू स्थानीयको घर तोडफोड, आगजनी र लुटपाटमा उत्रिए।

नवराज सुवेदीको नेतृत्वमा तीनकुनेमा राजतन्त्रको समर्थनमा विरोध प्रदर्शनको तयारी भएको थियो। तीनकुनेको खाली चौरमा मञ्च समेत बनाइएको थियो।

जडीबुटीमा रहेको जडिबुटी तथा प्रशोधन कम्पनीमा भएको आगलागी।तर विरोध प्रदर्शनमा सहभागीहरू मञ्च भएको ठाउँतिर जानुको साटो प्रहरी भएतिर गएर ढुङ्गा हान्न थालेपछि उनीहरूले राखेको कार्यक्रम नै भाँडियो।

प्रदर्शनकारीले प्रहरीतिर ढुङ्गा हान्न थालेपछि प्रहरीले अश्रुग्याँस हान्न थाल्यो। वयोवृद्ध नवराजसँगै मञ्चमा सम्बोधन गर्न बसेका रवीन्द्र मिश्रहरूले अश्रुग्याँस थेग्न सकेनन् र मञ्चबाट निस्किएर सडकतिर गए।

यता प्रदर्शनकारीहरू उग्र हुँदै गए। उनीहरूले प्रहरीसँगै वरपर रहेका घरहरूमा ढुङ्गा हान्न थाले। तीनकुनेको एक घरमा ढुङ्गा हानेर सिसा फुटाए अनि आगो झोसिदिए। आगो निभाउन आएको दमकलमा ढुङ्गा हानेर अवरोध गरे।

एकिकृत समाजवादीको कार्यालयमा भएको आलगागी।राजा फर्काउन भनेर सडकमा जम्मा पारेकाहरू अराजक हुँदै गएपछि प्रहरीले हस्तक्षेप बढायो। नवराज, रवीन्द्र लगायतका नेताहरू विरोध प्रदर्शनस्थलबाट हिँडे। दुर्गा प्रसाईँ तीनकुनेतिरबाट नयाँबानेश्वरतिर गाडी हुइँक्याउँदै गएका थिए।

प्रदर्शनमा सहभागीहरू तितरबितर भएर जता पुगे उतै अराजक भए। सडकमा रोकिराखेको सरकारी गाडीमा आगो लगाए। माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोडको प्रयास गरे। एकीकृत समाजवादीको कार्यालय तोडफोड गरे। सामान बाहिर निकालेर आगो लगाइदिए।

 प्रदर्शनकारीले फुटाइदिएको महानगरको दमकल।केही प्रदर्शनकारीहरूले अन्नपूर्ण दैनिकको कार्यालय तोडफोड गरेर आगो लगाउने प्रयास गरे। केहीले तीनकुनेमा रहेको कान्तिपुर टिभीको कार्यालयमा ढुङ्गा हानेका थिए।

प्रदर्शनकारीहरू अराजक भएपछि स्थानीय प्रशासनले तीनकुनेसहितका स्थानमा कर्फ्यु जारी गर्यो। विरोध प्रदर्शनमा सहभागी भएर फर्किएकाहरूले कोटेश्वरमा रहेको भाटभटेनी फोडेर लुटे।

तीनकुनेमा प्रदर्शनकारीले आगो लगाइदिएको एक घर।

चैत १५, २०८१ शुक्रबार १७:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।