तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी, कहाँदेखि कहाँसम्म लाग्यो?

तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी, कहाँदेखि कहाँसम्म लाग्यो?
तस्विर : दिपेश श्रेष्ठ/उकेरा

काठमाडौं : जिल्ला प्रशासन कार्यालयले तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने आसपासका चार किल्ला तोकेर राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

आदेशअनुसार उत्तरमा तीनकुने, गैरीधारा, एयरपोर्ट हुँदै गौशालासम्म, दक्षिणमा बालकुमारी पुलसम्म, पश्चिममा जडीबुटी पुलसम्म र पश्चिममा बानेश्वर चोकदेखि शंखमुल पुल तथा नयाँबानेश्वरदेखि पुरानो बानेश्वर हुँदै गौशाला चोकसम्म कर्फ्यू आदेश जारी भएको छ।

सुरक्षाकर्मीले केही बेरअघि कर्फ्यु लाग्ने माइकिङ गर्दै राजावादी प्रदर्शनकारी र त्यहाँ जम्मा भएका स्थानीयलाई घर-घर जान आग्रह गरेको थियो।

तीनकुनेमा प्रदर्शन गरिरहेका राजावादीहरू उग्र भएपछि बागमती नदीको पुल तरेर आलोकनगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका थिए।

त्यसअघि उनीहरूले तीनकुनेमा एक घरमा आगजनी गरेको दाबी गरिएको छ।

राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहे पनि सकेको छैन।

चैत १५, २०८१ शुक्रबार १६:२६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।