क्यानडाका प्रधानमन्त्रीले भने - अमेरिकासँगको पुरानो सम्बन्ध अब सकियो

क्यानडाका प्रधानमन्त्रीले भने - अमेरिकासँगको पुरानो सम्बन्ध अब सकियो

एजेन्सी : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको बताएका छन्।

मूल रूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा आधारित भएको पुरानो सम्बन्ध अब समाप्त भएको उनले बताएका हुन्।

राजधानी ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर निर्णयले क्यानेडियालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पार्ने बताए।

ट्रम्पले अमेरिकी सामानमाथि कर थोपरेपछि मार्क कार्नीले क्यानडाले प्रतिशोधात्मक कर लगाउने बताएका छन्, जसको प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव अमेरिकालाई पर्छ।

ट्रम्पले बुधबार आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि क्यानेडली प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो।

कार्नीले क्यानडा र संयुक्त राज्य अमेरिका बीचको १९६५ को अटोमोटिभ उत्पादन सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा महत्त्वपूर्ण सम्झौता भन्दै यी शुल्कहरूसँगै यो सम्झौता लागू नहुने बताए।

यद्यपि, ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएको र दुई नेताहरू बीच चाँडै वार्ता हुनसक्ने बताए।

यदि यसो भयो भने, कार्नी प्रधानमन्त्री बनेपछि ट्रम्प र कार्नीबीच फोनमा कुराकानी भएको यो पहिलो पटक हुनेछ। क्यानडामा अर्को महिना आम चुनाव हुँदैछ।

चैत १५, २०८१ शुक्रबार ०८:१५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।