लगानीकर्तालाई उत्साहित बनाउँदै बन्द भयो यो साताको सेयर बजार

काठमाडौं : साताको कारोबारको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४१.४३ अङ्कले बढेर २,६६३.३० विन्दुमा पुगेको छ। यो १.५८ प्रतिशतको वृद्धि हो।
कारोबारको हिसाबले बिहीबार नेप्सेमा उत्साहजनक गतिविधि देखियो। तीन सय नौ कम्पनीका ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री भए। कुल कारोबार रकम पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार पुगेको छ।
विभिन्न समूहहरूमध्ये व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत् र लगानी समूहका सूचकहरू पनि सकारात्मक क्षेत्रमा रहेका छन्।
बिहीबारको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र सृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, कुमारी सबल योजनाको शेयर मूल्य एक दशमलव ८२ प्रतिशतले घटेको छ।
कारोबार रकम र शेयर सङ्ख्याका हिसाबले हिमालयन रिइन्स्योरेन्स लिमिटेड सबैभन्दा ठूलो कम्पनी रह्यो। यस कम्पनीको ५१ करोड १८ लाख १७ हजार ७ सय १४ बराबरको पाँच लाख आठ हजार आठ सय ६० कित्ता शेयर किनबेच भएको थियो।
चैत १४, २०८१ बिहीबार १६:३७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।