पर्यटक भिसामा आएर चिनियाँ नागरिकले चलाएका भाषा कक्षा बन्द

पर्यटक भिसामा आएर चिनियाँ नागरिकले चलाएका भाषा कक्षा बन्द

रौतहट : पर्यटन भिसामा नेपाल आएका चिनियाको संलग्नतामा खुलेका अवैध रूपमा चिनियाँ भाषा कक्षा प्रहरीले बन्द गराएको छ।

रौतहटको चन्द्रपुर नगरपालिकाको विभिन्न स्थानमा चिनियाँ पर्यटकले यस्ता भाषा कक्षा चलाउँदै आएका थिए। चन्द्रपुर नगरपालिकाको वडा नम्बर ६ को ईभा खाजा घर र डाबरी जाने बाटो तथा वडा नम्बर १० को बालचनपुर स्थित तेली समाज धर्मशालामा चिनियाँ भाषा कक्षा चलिरहेको थियो।

पर्यटन भिसामा आएर अन्य गतिविधि गर्नु अध्यागमन कानुन अनुसार अवैध हो। चिनियाँहरुले अवैध रूपमा यस्ता भाषा कक्षा चलाएको र भाषा कक्षामा रहेका बालबालिकाहरूको भिडियो समेत बनाउने गरेको भन्दै अभिभावकहरूबाट उजुरी आएपछि प्रहरीले त्यस्ता भाषा कक्षा बन्द गराएको हो।

 इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले अनुमति बिना भाषा कक्षा सञ्चालन गरिरहेको सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान गरेर त्यस्ता भाषा कक्षा बन्द गराएको बताए। उनले अवैध काममा संलग्न देखिएका चिनियाँ पर्यटकलाई नियन्त्रणमा लिएको समेत जानकारी दिए।

चिनियाँ नागरिकले भाषा कक्षामा सहभागी भएका बालबालिकालाई दैनिक उनीहरूले ५० देखि सय सम्म दिने गरेका थिए।

उनीहरूले बालबालिकालाई आफ्नो कक्षामा आकर्षित गर्न विभिन्न उपहार समेत दिने गरेका थिए। उनीहरूले बालबालिकाको अभिभावकहरूलाई समेत उपहार दिन्थे।

चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले अनुमति नलिएर भाषा कक्षा सञ्चालन भएकोमा  आपत्ति जनाए। पर्यटक भिसामा आएका उनीहरूलाई  पढाउने अनुमति नभएको उनले बताए।

चैत १४, २०८१ बिहीबार १६:२९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।