माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने

काठमाडौं : माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सहकार्य गरी ‘गेटपे’ नामक नयाँ भुक्तानी सेवा सुरु गरेको छ। यो सेवाले व्यापारिक भुक्तानीलाई छिटो र सजिलो बनाउने दाबी गरिएको छ।
बैंक र वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न सजिलो बनाउने गरी सिटीटेकले यो प्लेटफर्म विकास गरेको हो।
बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्नेगरी माछापुच्छ्रे बैंकमा गेटपे कार्यान्वयनमा ल्याइएको सिटीएपले जनाएको छ।
यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्नसक्ने बताइएको छ। सिटीटेकका अनुसार गेटपे सेवाले भुक्तानी, हिसाब र व्यापारीहरूको गतिविधि एकै ठाउँबाट हेर्न सजिलो बनाउने छ।
गेटपे प्रयोगमा ल्याएपछि व्यापारीहरूले सबै भुक्तानी एकै ठाउँबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन्। यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ।
यस सेवाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने सिटीटेकको अपेक्षा छ । कम्पनीका अनुसार गेटपेले काम सजिलो बनाउनुका साथै भुक्तानीको जानकारी पनि दिन्छ भने सही निर्णय लिन मद्दत गर्नेछ।
चैत १४, २०८१ बिहीबार १४:३२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।