रङ्गकर्मीको दृष्टिमा नेपाली रङ्गमञ्च : बढ्दो व्यापारिकरण र फिल्ममा जाने खुड्किलो मात्र

रङ्गकर्मीको दृष्टिमा नेपाली रङ्गमञ्च : बढ्दो व्यापारिकरण र फिल्ममा जाने खुड्किलो मात्र
तस्बिर- एआईबाट बनाइएको

काठमाडौं : नेपाली रङ्गमञ्च क्षेत्रका सम्भावनाका साथै चुनौतीहरू पनि बढ्दै गएका छन्। चुनौती बढ्दै जाँदा पनि रङ्गमञ्चको संख्यामा उल्लेखनीय वृद्धि भएको छ र यसले क्षेत्रलाई फराकिलो बनाउँदै लगेको छ। साथै, नाटकप्रति दर्शकहरूको रुचि पनि उत्साहजनक रूपमा बढेको छ।

यद्यपि, केही महत्त्वपूर्ण समस्याहरूले अझै पनि यस क्षेत्रलाई घेरेका छन्। रङ्गमञ्चको संख्या बढेर कलाकारहरू यस क्षेत्रतिर आकर्षित भएको सकारात्मक पक्ष भए पनि, दर्शकहरूको रुचि, आकाँक्षा र समकालीन विषयहरूसँग तालमेल खाँदो गुणस्तरीय नाटक निर्माण गर्ने चुनौती अहिलेसम्म कायम छ।

रङ्गमञ्चकर्मी सृजना अधिकारीले पछिल्लो समय नेपालमा रङ्गमञ्चको अवस्था सुदृढ हुँदै गएको भए तापनि गुणस्तरीय र फरक शैलीका नाटक भने दिन नसकेको स्वीकार्छिन्। नाटकमा बहस र अन्तरक्रिया एकदमै आवश्यक रहेको भन्दै त्यसो गरेमात्र आउने दिनहरूमा रङ्गमञ्चको क्षेत्रमा काम गर्न सहज हुने उनको विश्वास छ।

उनी भन्छिन्, ‘यतिबेला नेपाली रङ्गमञ्चको अवस्था सामान्य छ। पहिलेको तुलनामा अहिले धेरै रङ्गमञ्चहरू खुलेका छन्। कलाकारहरूको संख्या पनि बढ्दो छ तर क्वालिटी अलि दिन नसकेको हो कि जस्तो लाग्छ। एउटै जनरलका फिल्महरू पनि बनिरहेको हुन्थ्यो कुनै समय त्यस्तै अहिले नाटकमा पनि एउटै जनरलको नाटकहरू मञ्चन भइरहेको हो कि जस्तो लाग्छ। त्यसैले सुधार गर्नुपर्ने विषयमा वहस जरुरी भइसकेको छ।’

त्यस्तै पछिल्लो समय नाटकमा नै बसेर जीविकोपार्जन गर्न कठिन भएको कारण नाटकबाट उदाएका कलाकारहरू फिल्म क्षेत्रमा लाग्ने र नाटकमा नफर्कने समस्या बढिरहेको सुनिन्छ। तर, यसमा रङ्गमञ्चकर्मी अधिकारी भने विमति राख्छिन्।

उनी भन्छिन्, ‘यसमा म चाहीँ सहमत छैन। नाटक क्षेत्रमा जीविकोपार्जन गर्न पैसा नै छैन भन्नुहुन्छ कतिजनाले। यस्तो कुरा हामीले पहिल्यैदेखि सुन्दै आइरहेका छौँ।  हाम्रो सिनियरहरूले त्यही नै भन्नुहुन्थ्यो। त्यसलाई स्वीकार गरेर आएका हौँ। मैले काम गरेको १८ वर्ष जति भयो, आजसम्म पनि छु। पैसा नभएर त होइन नि! यति धेरै रङ्गमञ्चहरू खुलिरहेको छ, बिना पैसा त खुल्दैनन्। पैसा छैन भन्दाभन्दै विना पैसा कसले काम गर्छ त?’

उनी थप्छिन्, ‘त्यसमा परिधिहरू फरक छन् होला माध्यमहरू फरक छन् होला तर पैसा छ। अहिलेको अवस्था चाहिँ कसरी अगाडि लैजाने पैसा अनुसारको काम कसरी दिने भन्ने नै हो। म सर्भाइभ भइरहेको छु भनेपछि पैसा त छ नि! कुन तहको डिमान्ड गर्ने भन्ने चाहिँ आफैँंमा निर्भर गर्ने कुरा हो। सामान्य जीवन बिताउनको लागि सबैलाई पुगिरहेको छ।’

उनले अहिले रङ्गमञ्चमा आउने कलाकारले रङ्गमञ्चलाई फिल्ममा जाने खुड्किलोको रूपमा मात्र लिएको भन्दै यस्तो गर्नु गलत भएको बताउँछिन्। राम्रो मेहेनत गरेर काम गरेको खण्डमा माथि पुग्छौँ। त्यतिकै चमत्कार हुँदैन भन्ने कुराको हेक्का सबै कलाकारमा हुनुपर्ने उनको भनाइ छ।

यसमा थप्दै उनी भन्छिन्, ‘नाटकमा नै फोकस गरेर काम गरौ न भन्ने टीमवर्कमा काम गर्ने भनेर आउनुहुन्थ्यो भने अहिले चाहिँ रङ्गमञ्च फिल्ममा जाने खुड्किलो मात्र भएको छ। खुड्किलो मात्र होइन राम्रो मेहेनत गरेर अभिनय देखाउन सकियो भने रङ्गमञ्चबाटै चमत्कार गर्न सकिन्छ।’

उनले नेपाली सिनेमा क्षेत्रमा नाटकबाट गएका कलाकारहरूको सशक्त भूमिका रहेको भन्दै भनिन्, ‘अहिले फिल्म क्षेत्रमा पढेर बुझेर नै जाने क्रम बढेको छ। नाटकबाट जानुभएको कलाकारहरूले फिल्ममा राम्रो गरिराख्नुभएको छ। आफ्नो स्थान बनाइराख्नुभएको छ।’

त्यस्तै, तपाई फिल्म र नाटक कुनमा बढि सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘नाटक भनेपछि रगतमा नै बसेको छ। आनन्द महसुस गरिन्छ। कलाकार भएर सबै काम गर्नुपर्यो। नाटकमा चाँही फ्लोमा बग्न पाइन्छ। आफ्नो हिसाबले काम गर्न पाइन्छ। फिल्ममा अलिकति टेक्निकल पनि काम गर्नुपर्छ। दुवैमा सन्तुष्ट छु।’

रङ्गमञ्च सम्भावना भएको क्षेत्र भएकाले मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने उनको बुझाइ छ।

‘रङ्गमञ्च सम्भावना नभएको क्षेत्र होइन। नाटकमा बुझ्ने पढ्ने सिक्ने सबै प्याकेजको रूपमा पाइन्छ। जीवन बुझ्नका लागि नाटक चाहिन्छ। फिल्ममा जान प्रयोग गरिरहेको पनि छन्। मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने सम्भावित क्षेत्र हो।’

सँधै एउटै खालको नाटक भएको गुनासो आइरहेका बेला नयाँ शैलीका नाटकहरू ल्याउनु चुनौती रहेको उनले बताइन्। नाटकमा पहिलेको जस्तो हेर्न आउनेको माहोल नभएको भन्दै यसमा सबै रङ्गमञ्चकर्मीहरूले सोच्ने समय आएको उनको ठम्याई छ।

उनी भन्छिन्, ‘डिलिङ कसरी गर्ने भन्ने कुरा नै चुनौतीको रूपमा छ। नाटकहरू कस्तो तरिकाले ल्याउन सकिन्छ, सधैँ एउटै खालको नाटक गर्ने कि नगर्ने अब कसरी जाने त्यो अहिले नाटकको क्षेत्रमा खड्किएको कुरा हो। हिजोआज अग्रजहरू देख्न पाइँदैन। पहिला पहिला कलेजहरू सबै उर्लिएर आउनुहुन्थ्यो नाटक हेर्न अहिले माहोल छैन। त्यो हामीले दिन नसकेको हो, यसमा कसरी पार गर्ने सबै रङ्गमञ्चकर्मीहरूले सोच्ने विषय हो, समय पनि आएको छ।’

यस्तै, कलाकार तथा रङ्गमञ्चकर्मी प्रमोद अग्रहरी दिल्लीमा गएर नाटक सम्बन्धी पढेपछि २००७ बाट रङ्गमञ्चको यात्रा सुरु गरेको बताउँछन्। आफ्नो नाटकको यात्रा सुनाउँदै उनी पहिलाको नाटक र रङ्गमञ्च शुद्ध हुने गरेको भन्दै पछिल्लो समय यो क्षेत्र व्यापारिकणको चपेटामा परेको बताउँछन्।

साथै डाइरेक्सन र नाटकको लागि तीन/चार महिनाको बुझाइले नपुग्ने त्यसको लागि एकदमै ठूलो तपस्या गर्नुपर्ने भन्दै अहिलेको नयाँ पुस्तामा त्यो कुराको कमी देखिएको पनि उनको भनाइ छ। 

‘पछिल्लो समय जुन नाटकहरू भइरहेका छन् ती स्तरीय नभएजस्तो लाग्छ। नाटक निर्देशनका लागि एकदमै ठूला तपस्या गर्नुपर्छ,’ उनी भन्छन्, ‘पहिला एकदमै शुद्ध काम हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले व्यापारीरकण बढी भयो जस्तो लाग्छ। देखावटी बढी नै भयो। नाटक घर र रङ्गमञ्च त विद्रोह गर्ने ठाउँ हो नि!’

यस्तै, उनी घर बनाउनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जग भएको भन्दै अभिनयको जग नाटकघर र रङ्गमञ्चविना कुनै सिनेमा र कलाकार बन्न नसक्ने बताउँछन्।

‘अहिलेको सन्दर्भमा फिल्म क्षेत्रमा रङ्गमञ्चबाट गएका कलाकारहरू पनि धेरै मात्रामा छन्। मेरो लागि नाटकघर भनेको बाँच्न सिकाउने ठाँउ हो जस्तो लाग्छ। किनभने घर बलियो बनाउनको लागि जग बलियो हुनुपर्छ रङ्गमञ्च भनेको जग हो त्यो बिना हामीले सिनेमामा पनि काम गर्न सक्दैनौँ। यसको साथै यस सम्बन्धीको पढाइ पनि एकदमै जरुरी हुन्छ। म रङ्गमञ्च र फिल्म दुवैमा रमाउने मान्छे हो।’

यस क्षेत्रमा राज्यको ध्यान नगएकोतर्फ पनि अग्रहरी दु:ख व्यक्त गर्छन्। यस क्षेत्रमा राज्यले जति ध्यान दिनुपर्ने थियो त्यो हिसाबको नभएको उनको बुझाई छ।

उनी भन्छन्, ‘राज्यविना हामी केही होइनौँ, न सिनेमामा केही हुन्छ न नाटकघरहरूमा केही हुन्छ। त्यसकारण यसका लागि राज्यले सजिलो वातावरण भने बनाइदिनुपर्छ। नेपाली सिनेमा र रङ्गमञ्चहरूका लागि सरकारी निकायबाट केही कामहरू गर्नुपर्छ जस्तो लाग्छ।’

प्रमिला कार्की/नेपाल न्यूज बैंक

चैत १४, २०८१ बिहीबार ११:२२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।