प्रकाश सपुतले भने- ‘देशमा यस्तो प्रधानमन्त्री पाइयोस्, जसको प्रशंसा गर्दा गाली नखाइयोस्’

प्रकाश सपुतले भने- ‘देशमा यस्तो प्रधानमन्त्री पाइयोस्, जसको प्रशंसा गर्दा गाली नखाइयोस्’

काठमाडौं : गायक तथा संगीतकार प्रकाश सपुत केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनी ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण कार्यक्रममा उनी पनि वक्ता थिए।

उनले ओलीलाई सङ्घर्षशील, आत्मविश्वासी र युवा सोच भएको नेता भन्दै प्रशंसा गरे। प्रशंसा उनका लागि भारी भएर आयो। केहीले अभिव्यक्ति स्वतन्त्रताको पक्षबाट उनको समर्थन नगरेका हैनन् तर सामाजिक सञ्जालमा समर्थनभन्दा चर्को आलोचना भयो। फिल्म बहिष्कारसम्मको आव्हान भयो।

फिल्म ‘बसन्त’को ट्रेलर सार्वजनिक भइसक्दा पनि उनलाई त्यो विवादले छाडेको छैन। कलाकारको रूपमा कुनै दलको नेताको पक्षमा उभिने कि स्वतन्त्र पहिचान कायम राख्ने भनेर उनीहरूमाथि प्रश्न उठिरहेका छन्।

उनले कलाकारलाई आफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ भन्ने तर्क गरिरहेका छन्। प्रशंसा गर्दा पनि आलोचना सहनुपर्ने रहेछ है? भनेर बचाउ गरे। उनले जे तर्क गरेका छन् असत्य भने हैन।

तर, उनको अभिव्यक्तिलाई दर्शकहरूले कुनै एक दल वा कुनै नेताप्रतिको झुकावको रूपमा दर्शकले लिएमा भने त्यसको असर फिल्मको व्यापारमा पर्ने जोखिम हुन्छ नै।

यसैबीच उनले एक कार्यक्रममा पुगेर देशकाे प्रधानमन्त्रीको प्रशंसा गर्दा गाली नखाने प्रधानमन्त्री देशले पाओस् भनेर कामना गरेका छन्। कमेडी दरबारको आगामी श्रृंखलामा अतिथि बनेर गएका उनले यस्तो बताएका हुन्।

कार्यक्रममा ट्रेलरको अन्तिममा राखिएको एक पार्टमा प्रकाश सपुतले भनेका छन्, ‘अब चाहिँ देशमा यस्तो प्रधानमन्त्री पाइयोस्, जसको प्रशंसा गर्दा गाली नखाइयोस्।’

चैत १४, २०८१ बिहीबार ०८:३१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।