कुलमानको बर्खास्तीमा अवरुद्ध संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

कुलमानको बर्खास्तीमा अवरुद्ध संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ

प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइँदा राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।

हिजोको बैठकमा प्रतिपक्षी दलहरुले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाइएको विरोध गर्दै सदन अवरुद्ध गरेपछि बैठक बस्न सकेको थिएन।

प्रतिपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चित्तबुझ्दो जवाफ नआएसम्म सदनको अवरोध कायमै गर्ने बताएका छन्।

आजको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम छ।

यसका अलावा बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने, प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको पैसट्टीऔं वार्षिक प्रतिवेदन (२०८० श्रावण २०८१ आषाढ) पेश गर्नेसमेत सम्भावित कार्यसूची छ।

यसका अलावा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोसू भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए

चैत १४, २०८१ बिहीबार ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।