स्वास्थ्य मन्त्री पौडेलको फण्डा : गंगालालमा पहिल्यैबाट निःशुल्क भइरहेको मुटुरोगको उपचार दोहोर्याएर गरे घोषणा

काठमाडौं : शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले करिब दश वर्षदेखि १५ वर्ष मुनिका बालबालिकाको मुटुसँग सम्बन्धित शल्यक्रिया लगायतको उपचार निःशुल्क गर्दै आएको थियो।
स्वास्थ्य मन्त्रालयले दिनुपर्ने आर्थिक स्रोत रोकिदा करिब ६ महिनादेखि अस्पतालले निःशुल्क उपचार रोकेर शुल्क लिन थाल्यो। निःशुल्क उपचार रोकिँदा प्रदीप पौडेल स्वास्थ्यमन्त्री भइसकेका थिए।
उनै स्वास्थ्यमन्त्री पौडेलले दश वर्ष अघिदेखि भइरहेको १५ वर्ष मुनिका बालबालिकाको मुटुको उपचार सेवा आफ्नो पालामा पहिलो पटक निःशुल्क गरेझैँ प्रचार गराए।
उनको सचिवालयबाट निर्मित समाचारमा पौडेल मन्त्री भएपछि पहिलो पटक यस्तो सुविधा सुरु भएको भ्रम छर्ने प्रयास गरियो।
स्वास्थ्यले रकम नदिँदा रोकिनु अगाडिसम्म गंगालालमा १५ वर्षमुनिका सबै बालबालिकाहरूको मुटु सम्बन्धी शल्यक्रिया निःशुल्क हुने गरेको थियो। मन्त्री पौडेलले मङ्गलवार गरेको निर्णयमा ‘विपन्नलाई मात्रै’ निःशुल्क उपचार गर्ने उल्लेख छ।
स्वास्थ्य मन्त्री पौडेलको गङ्गालालको सञ्चालक समितिको अध्यक्ष समेत हुन्। उनकै अध्यक्षतामा मङ्गलवार बसेको बैठकमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको गंगालालमा निःशुल्क मुटुको उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री पौडेलको सचिवालयले मिडियामा पठाएको समाचारमा दाबी गरिएको छ।
मन्त्रीको सचिवालयले मिडियालाई पठाएको समाचारमा ‘बैठकमा उनले आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा. रबी मल्लले जानकारी दिएको’ तयारी कोड समेत राखिएको छ।
‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भनेपछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौँ’ गङ्गालालका कार्यकारी निर्देशक डा. मल्ललाई उद्धृत गर्दै मन्त्रीको सचिवालयले तयार पारेको समाचारमा लेखिएको छ। केही मिडियामा तयारी समाचारै प्रकाशित भयो।
OOO
गंगालालमा पहिला १५ वर्ष मुनीकाहरुको हकमा सत् प्रतिशत निःशुल्क शल्यक्रिया हुने गरेको थियो। करिब ६ महिनाअघिदेखि गङ्गालालले १५ वर्ष मुनिका बालबालिकालाई दुई लाख ५० हजार रकम मात्रै छुट दिन थाल्यो। कारण थियो स्वास्थ्यले रोकेको रकम।
रोगको प्रकृति अनुसार शल्यक्रियामा १५ लाखसम्म खर्च हुनसक्छ। पहिला जति खर्च लागे पनि सत् प्रतिशत निःशुल्क हुन्थ्यो। तर, ६ महिना अघिबाट अस्पतालले जम्मा दुई लाख ५० हजार मात्र छुट दिन थाल्यो। मुटुको शल्यक्रिया गर्नुपर्ने बालबालिकालाई त्यो भन्दा बढी खर्च लागे बिरामी पक्षले नै पैसा तिर्ने गरेका छन्।
शुल्क शल्यक्रिया रोकिनुको कारण देखियो स्वास्थ्य मन्त्रालयले दिएको वार्षिक १२ करोड ५० लाख। अस्पताल स्रोतका अनुसार सरकारले १५ वर्ष मुनिका पाँच सय जना बालबालिकाको मुटुको शल्यक्रिया तथा औषधि उपचारका लागि दिएको साढे १२ करोड रकमलाई पाँच सय व्यक्तिमा भाग लगाउँदा एक जना बालबालिकाको उपचारका लागि दुई लाख ५० हजार मात्र पर्न आउँछ। त्यसैले गङ्गालाले अहिले दुई लाख ५० हजार रकम बराबर मात्रै छुट दिन थाल्यो।
अस्पताल स्रोतका अनुसार सरकारले सामाजिक सुरक्षा बापत निःशुल्क घोषणा गरेको आर्थिक वर्ष २०७९-८० र २०८०-०८१ को ४८ करोड रकम गङ्गालाल अस्पताललाई भुक्तानी गर्न बाँकी थियो।
सो रकमको भुक्तानी रोकिएपछि अस्पतालले आन्तरिक स्रोतबाट बेहोर्ने खर्च रोकियो। गङ्गालाल प्रशासन हरेक महिना भुक्तानी बाँकी रहेको बिल अनुसारको भुक्तानीका लागि मन्त्रालयमा ताकेता गर्ने गरेको देखिएको विषयमा उकेराले ६ हप्ताअघि माघ २७ मा समाचार सम्प्रेषण गरेको थियो।
त्यसपछि तीन हप्ता अघि अर्थ मन्त्रालयले गङ्गालाललाई २४ करोड थप रकम निकासा गर्ने निर्णय गर्यो।
गङ्गालाल प्रशासन अनुसार यो आर्थिक वर्षको चैतको पहिलो सातासम्ममा पाँच सय बालबालिकाको शल्यक्रिया भइसकेको छ। मङ्गलवार बसेको बैठकले आन्तरिक स्रोत, सामाजिक सेवा इकाई र दाताबाट आर्थिक व्यवस्थापन गरेर विपन्नलाई निः शुल्क शल्यक्रियालगायत उपचार सुविधा दिने निर्णय गरेको बैठकमा सहभागी स्रोतले बतायो। अन्यको हकमा भने २ लाख ५० हजार मात्र छुट हुनेछ। अन्य रकम आफैँले ब्योहोर्नु पर्नेछ।
‘अन्यलाई दुई लाख ५० हजार मात्रै दिइन्छ,’बैठकमा सहभागी एक सदस्यले भने,‘वडा र पालिको सिफारिसको आधारमा विपन्नलाई निःशुल्क उपचार गरिन्छ।’
बालबालिकाको मुटुरोगको उपचारका लागि थप आर्थिक व्यवस्थापन गर्न केन्द्रको सञ्चालक समितिका सदस्य दीपकराज सापकोटाको नेतृत्वमा उपसमिति बनाउने समेत निर्णय भएको बैठकमा सहभागी एक सदस्यले उकेरालाई जानकारी दिए।
चैत १३, २०८१ बुधबार २२:०९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।