कुलमानको बर्खास्तीको विरोधले दुवै संसद् चल्न सकेनन्, प्रधानमन्त्रीको जवाफ मागे विपक्षीले

काठमाडौं : विपक्षी दलका सांसदहरू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा उत्रिएपछि बुधवार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक चल्न सकेन।
विपक्षी दलका सांसदहरूले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्दै बैठकमा निरन्तर अवरोध गरेका थिए।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकको प्रारम्भमै विपक्षीको अवरोध गरेपछि चल्न सकेन। सभामुख देवराज घिमिरेले बैठक सुचारु गर्न प्रयास गरे पनि सकेनन्। उनले बिहीबार बिहान ११ बजेका लागि समिति र समय तोकेर बैठक स्थगित गरे।
महासचिव पद्मप्रसाद पाण्डेयले दिउँसो ३ बजे बैठक सार्ने सूचना निकालेका थिए। तर पहिलो र दोस्रो दुवै बैठकमा विपक्षीले अवरोध कायमै राखेपछि बैठक सुरु हुन सकेन।
उता राष्ट्रिय सभामा पनि विपक्षीहरूले बैठक चल्न दिएनन्। निरन्तर अवरोधपछि अध्यक्ष नारायण दाहालले पनि अर्को बैठक बिहीबार मध्यान्ह सवा १२ बजे बस्ने गरी बैठक स्थगित गरे।
सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानको बर्खास्तीको निर्णय गरेको थियो। सरकारको निर्णय सार्वजनिक भएपछि सर्वसाधारण समेत विरोधमा उत्रिएका थिए।
चैत १३, २०८१ बुधबार १७:२६:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।