कालिकोटको मान्मदेखि मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार

काठमाडौं : नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक अल डाइलेट्रिक सेल्फ सपोर्टिङ प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ।
देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रूपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको छ।
माइक्रोवेभ रेडियो लिंकमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूका साथै एनटीटिभी ब्रान्डको टेलिभिजन सेवा समेत मिति २०८१ चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको छ। यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रूपमा लिन सकिन्छ।
सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरूले हाल सञ्चालनमा रहेका सेवाहरूको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्ने कम्पनीका प्रवक्ता हरि ढकालले जानकारी दिए। यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने ट्रान्समिसन रुटको वैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुने बताइएको छ।
चैत १३, २०८१ बुधबार १४:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।