कुलमान बर्खास्तीको विरोधमा प्रतिपक्षी दलहरूद्वारा संसद् बैठक अवरुद्ध, मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका प्रमुखबाट कुलमान घिसिङलाई बर्खास्त गरिएको विषयमा विपक्षी दलहरूले संसद्मा अवरोध गरेका छन्।
कुशल प्रशासकका रुपमा रहेका उनलाई पुरस्कृत गर्नुपर्नेमा उल्टै दण्डित गरिएको भन्दै विपक्षी दलहरूले आपत्ति जनाएका छन्।
बुधबारको प्रतिनिधिसभा बैठकको सुरुमै सबै दलहरूले उठेर विरोध जनाए। त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी माओवादीका सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए।
धारणा राख्दै बस्नेतले सरकारले प्राधिकरण बिचौलियाको हातमा सुम्पन चार महिना पनि अडिन नसकेको बताए।
आफैंलाई चार महिना पनि टिक्न सकिने विश्वास गुमाएकाले हतारमा कुलमानलाई निकालेको उनको टिप्पणी गरे।
‘राज्यका महत्वपूर्ण अंग र निकायलाई नियन्त्रणमा लिन सरकार उद्धत छ। स्वार्थ समूहको वैशाखी टेकेर बनेको सरकार बिचौलियाकै निम्ति आफूलाई समर्पित गर्ने नियति बनेको छ,’ उनले भने, ‘सरकारले दुईतिहाइको सामर्थ्य राष्ट्रसेवक कुलमान घिसिङको मानमर्दनमा प्रदर्शन गरेको छ।’
साथै सांसद बस्नेतले अब यसबारे प्रधानमन्त्रीको जवाफ माग गरे। प्रधानमन्त्रीको जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गरेका छन्।
लामो समय आसन ग्रहण गर्न आग्रह गर्दा पनि नबसेपछि सभामुख घिमिरेले आजै आधा घण्टाका लागि बैठक स्थगित गरेका छन्।
चैत १३, २०८१ बुधबार ११:५५:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।