४७ वर्ष जेलमा बिताएपछि निर्दोष साबित, २१ करोड क्षतिपूर्ति दिने सरकारको निर्णय

४७ वर्ष जेलमा बिताएपछि निर्दोष साबित, २१ करोड क्षतिपूर्ति दिने सरकारको निर्णय

एजेन्सी : जापान सरकारले झूटा हत्याको आरोपमा ४७ वर्ष जेल सजाय भोगेका ८९ वर्षीय इवाओ हाकामातालाई क्षतिपूर्तिस्वरूप २१ करोड येन दिने निर्णय गरेको छ।

हाकामातालाई १९६८ मा पक्राउ गरिए उनी २०१४ सम्म सजाय भोगिरहेका थिए। गत वर्ष सेप्टेम्बरमा जापानको शिजुओका शहरको एक अदालतले उनलाई सबै आरोपबाट मुक्त गरेको थियो।

उनलाई १९६६ मा आफ्नो हाकिम, उनकी श्रीमती र दुई छोराछोरीको हत्या गरेको, घरमा आगो लगाएको र दुई लाख येन (जापानी मुद्रा) चोरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो।

हाकामाताका वकिलहरूका अनुसार देशको इतिहासमा कुनै पनि फौजदारी मुद्दामा दिइएको २१ करोड येन नै सबैभन्दा ठूलो क्षतिपूर्ति हो।

हाकामाताकी बहिनी हिदेकोले आफ्नो भाइको निर्दोषता प्रमाणित गर्न प्रमाण जुटाउन वर्षौंसम्म कडा परिश्रम गरिन्। त्यसपछि अदालतले २०१४ मा फेरि मुद्दाको सुनुवाइ सुरु गर्यो र हाकामातालाई जेलबाट रिहा गर्यो।

हिदेकोले भने, ‘म ५७ वर्षदेखि यो दिनको प्रतिक्षामा थिएँ र त्यो दिन आएको छ। अन्ततः मेरो काँधबाट एउटा बोझ हट्यो।’

उनको बुढ्यौली र बिग्रँदो मानसिक अवस्थाका कारण उनलाई मुद्दाको सुनुवाइमा उपस्थित हुनबाट छुट दिइएको थियो। उनी आफ्नी ९१ वर्षीया बहिनी हिदेकोको हेरचाहमा बस्दै आएका थिए।

पक्राउ परेपछि, हाकामाताले सुरूमा सबै आरोपहरू अस्वीकार गरे पनि पछि प्रहरीको यातनापछि भने सबै आरोपहरू स्वीकार गरेका थिए। अदालती सुनुवाइको क्रममा हाकामातालाई कुटपिट गरिएको र स्वीकार गर्न बाध्य पारिएको कुरा प्रष्ट भयो।

उनका वकिलहरूले पीडितहरूको लुगामा भेटिएको डीएनए हाकामाताको डीएनएसँग मेल नखाने भन्दै आरोप लगाउन झूटा प्रमाणहरू बनाइयो।

यो मुद्दा जापानको सबैभन्दा लामो र सबैभन्दा प्रसिद्ध कानुनी मुद्दाहरू मध्ये एक हो। उनका वकिलहरूले उनी विश्वकै सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोग्ने कैदी बनेको बताएका छन्। यो सजायले उनको मानसिक स्वास्थ्यमा नराम्रो असर पारेको थियो।

चैत १३, २०८१ बुधबार ०८:५९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।