प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेवको दाबी ‘ लोडसेडिङ हल्ला मात्रै’

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेवको दाबी ‘ लोडसेडिङ हल्ला मात्रै’

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हुन्छ भन्ने हल्ला मात्र रहेको दाबी गरे। सोमबार सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्दै उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

मंगलबार पदभार गर्दै उनले आगामी दिनमा विश्वासिलो बिजुली आपूर्तिको प्रतिबद्धता व्यक्त गरे।

‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन्, तर त्यो पूर्णतः निराधार हो। अब घरायसी ग्राहकहरूमा लोडसेडिङ हुनेछैन’ उनले भने।

उनले उद्योगमा रहेको लोडसेडिङ पनि हटाइने दाबी गरे। आफ्नो पहिलेको कार्यकाल (०७७ सालमा) को सम्झना गर्दै शाक्यले त्यतिबेला भन्दा अहिले झन् विश्वासिलो बिजुली आपूर्ति गरिने बताए।

उनले उद्योग क्षेत्रमा त्यतिबेला लोडसेडिङ नगरिएको र अहिले पनि त्यस्तै अवस्था बनाउने दाबी गरे।

‘अबको मुख्य चुनौती विश्वासिलो बिजुली हो, लोडसेडिङ होइन,’ उनले भने ‘विद्युत्को गुणस्तर बढाइनेछ र दिनमा एकपटकभन्दा बढी ट्रिपिङ नहुने वातावरण बनाइनेछ।’

शाक्यले डेडिकेटेड र ट्रंकलाइन विवादको प्राविधिक समाधान गर्ने बताए। भारतले विद्युत् आपूर्ति रोक्ने भन्ने हल्लाहरूलाई पनि शाक्यले बेकार बताए। ‘

‘विद्युत् प्राधिकरण ०४१ सालदेखि स्थापित संस्था हो। कुनै एक व्यक्तिको आगमन वा जाने कुराले संस्थाको कार्यमा फरक पर्दैन,’ उनले भने।

उनले आगामी एक-दुई हप्ताभित्र नै आफ्ना प्रयासहरूको सकारात्मक परिणाम देखाउने दाबी गरे।

चैत १३, २०८१ बुधबार ००:०१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।