प्रतिनिधि रुवाउँदै ‘टिका लगाएर’ सकियो प्रेस चौतारीको महाधिवेशन

काठमाडौँ : उम्मेदवारी लिने तर मतदान नगराउने अनौठो निर्वाचन कार्यतालिका अनुसार सर्वसम्मत नेतृत्व चयन गराउँदै सत्तारुढ दल एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको महाधिवेशन सकियो।
विराटनगरमा १० औँ राष्ट्रिय महाधिवेशन हलमा नेतृत्वमा सर्वसम्मत भएकाहरूको नामावली पढ्दा प्रतिनिधिहरू भने रुँदै हलबाट बाहिरिएका थिए। एमाले निकट पत्रकारहरू रोएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
निर्वाचन कार्यतालिका सार्वजनिक गर्दा नै निर्वाचन समितिले उम्मेदवारी दिने समय तोकेको थियो तर मतदानको समय तोकेको थिएन। कार्यतालिकामै उम्मेदवारी दर्ता, दाबी विरोध अनि परिणाम घोषणा थियो।
निर्वाचन नगरी पार्टीका नेताहरूको इच्छाअनुसारको नेतृत्व छान्न प्रकाशित निर्वाचन तालिका अनुसारै सीमित व्यक्तिहरूलाई मात्र मनोनयन पत्र दिइयो। अनि सर्वसम्मत नेतृत्व छानिएको घोषणा गरियो।
घोषणा भए अनुसार गणेश पाण्डे सर्वसम्मत अध्यक्ष चयन भए। महासचिवमा चेतन अधिकारीको नाम आएकोमा हिरामान लामा दोहोरिए। उनी यस अगाडिको कार्यकालमा पनि महासचिव थिए। चेतन उपाध्यक्ष भए। उप-महासचिवमा हरिबल्लभ नेपाल, संगठन सचिव विष्णु तारुके, अर्थ सचिव प्रदिप आचार्य, प्रचार सचिव विक्रम लुईँटेल र विदेश सचिव नरेश भण्डारी चयन भए।
महिला उपाध्यक्षमा कृपा भण्डारी चयन भइन्। हलमा ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा भयो। नेतृत्व चयनको प्रक्रिया सकिएको घोषणासँगै महाधिवेशनका केही प्रतिनिधि रुँदै हलबाट बाहिरिए।
महाधिवेशनमा राजेश राईले समेत अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर उनको उम्मेदवारी परेन। राई समूहले निर्वाचन आयोगले उम्मेदवारी दर्ता गर्न फारम नै नदिएको दाबी गरेको छ। उनको दाबी निर्वाचन कार्यतालिकाबाटै पुष्टि हुन्छ।
केन्द्रले चाहे अनुसारको नेतृत्व छान्ने रणनीति सार्वजनिक भए लगत्तै महाधिवेशन प्रतिनिधीहरुले मतदान प्रक्रियाबाट नेतृत्व छान्न पाउनुपर्ने माग राख्दै हस्ताक्षर संकलन गरेका थिए।
राई समूहलाई मनाउने प्रयास पनि भएकै थियो। उनी उम्मेदवार बन्ने अडानमा कायम रहेपछि पार्टी मतदानै हुन नदिने रणनीतिमा लाग्यो। हस्ताक्षरले दबाबको काम गरेन। अनि अन्तमा जब घोषणा भयो महाधिवेशन प्रतिनिधिहरू रुँदै हलबाट बाहिरिए। अध्यक्षको उम्मेदवार बन्ने तयारीमा रहेका राई पनि प्रतिनिधीहरुसँगै रोएको देखियो।
चैत ११, २०८१ सोमबार २२:५५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।