सङ्क्रमणकालीन न्यायको बाँकी काम टुङ्गाउन सर्च कमिटी बनाउन शीर्ष तीन दलबीच सहमति

काठमाडौं : सत्ता घटक दुई दल र प्रमुख प्रतिपक्षी दलको शीर्ष तीन नेताबीच बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया अगाडि बढाउने सहमत भएको दाबी सार्वजनिक भएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो।
छलफलमा तीनै दलका अन्य नेताहरू समेत सहभागी थिए। छलफलमा सहभागी प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलका अनुसार छलफलमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने गरी समिति गठन गर्न सहमत भएको दाबी गरे।
खरेलका अनुसार छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गाँसिएकाले दुई आयोग गठन गर्न सर्च कमिटी बनाइने सहमति भयो।
यसैगरि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तको लागि सिफारिस समिति बनाउने सहमति समेत भयो।
सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरूसँग परामर्श गरेको र परामर्श अनुसार सिफारिस समितिको प्रक्रिया अगाडि बढ्ने उनले दाबी गरे।
समिति बनाउन प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति जनाएको उनको दाबी छ।
सिंहदरबारमा बसेको छलफलमा तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेललगायतका नेताहरुपनि सहभागी थिए।
चैत ११, २०८१ सोमबार १८:३२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।