प्रेस चौतारीको अध्यक्षको उम्मेदवार बन्न ३५ हजार शुल्क

काठमाडौँ : सकेसम्म निर्वाचन नगरी सर्वसम्मत रूपमा नेतृत्व चयन गराउने पार्टीको रणनीति विपरीत एमालेको भातृ संगठन प्रेस चौतारीमा निर्वाचन कार्यतालिका सार्वजनिक भयो। सोमबार सार्वजनिक भएको निर्वाचन कार्यतालिकामा चैत ११ मै सबै निर्वाचन प्रक्रिया सक्काउने उल्लेख छ।
तर निर्वाचन समितिले उम्मेदवारी शुल्क भने निकै उच्च तोकेको छ। निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र उम्मेदवारी शुल्कमा अध्यक्षका लागि ३५ हजार तोकेको छ। पदाधिकारीका लागि २५ हजार, आयोग अध्यक्षका लागि १५ हजार र केन्द्रीय सदस्य, आयोग सदस्य र पदाधिकारीको हकमा उम्मेदवार बन्न १० हजार शुल्क तोकेको छ।
श्रमजीवी पत्रकारहरूको संगठन दाबी गर्नेहरूले उम्मेदवार बन्ने शुल्क अत्यधिक तोकेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेका छन्। केहीले निर्वाचन कार्यतालिका सार्वजनिक गरे पनि उम्मेदवार बन्न चाहनेहरूलाई उम्मेदवारी फारम दिन अवरोध भइरहेको सामाजिक सञ्जालमै दाबी गरेका छन्।
प्रारम्भमा अध्यक्षमा गणेश पाण्डेलाई सर्वसम्मत गराउने प्रयास भएको थियो। तर महाधिवेशनका प्रतिनिधिहरू निर्वाचन गराउनुपर्ने पक्षमा उभिँदै हस्ताक्षर अभियानै चलाएपछि निर्वाचन कार्यतालिका प्रकाशित भयो। अध्यक्षमा अर्का राजेश राईले उम्मेदवारी घोषणा गरेका छन्।
पत्रकारको संगठन दाबी गर्ने चौतारी एमालेको भातृ संगठन हो। अध्यक्षका उम्मेदवारहरूले सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारीको योग्यताको भन्दै राखेका सामग्रीहरूमा पार्टीको पक्षमा कति काम गरियो भन्ने विवरणहरू छन्।
चैत ११, २०८१ सोमबार १६:५१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।