भारत र पूर्वराजाबारे अध्यक्षले भन्दै नभनेका कुरा बाहिर आएको भन्दै एमालेको विज्ञप्ति

भारत र पूर्वराजाबारे अध्यक्षले भन्दै नभनेका कुरा बाहिर आएको भन्दै एमालेको विज्ञप्ति

काठमाडौं : सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नभनेका कुरा समाचारमा आएको भन्दै एमालेले स्पष्ट पारेको छ।

सोमबार पार्टीका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नभनेका कुरालाई समाचारमा ल्याइएको भन्दै असन्तुष्टि जनाएका हुन्।

विज्ञप्तिमा उनले सरकार भारतसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने पक्षमा रहेको स्पष्ट पारेका छन्। अध्यक्ष ओलीले सचिवालय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्न परे गर्ने भन्ने अभिव्यक्ति दिएको समाचार बाहिरिएका थिए।

‘पूर्वराजावादीहरूको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले बोलेको भनिएका कुराहरू आधारहीन र अतिरञ्जित छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘ती समाचारले अनावश्यक सनसनी फैलाउने तथा नेपाल र भारतबीचको शताब्दीऔं पुरानो सम्बन्धमा शंका उत्पन्न गराउने नियत राखेका छन्।’

कुनै पनि लोकतान्त्रिक मुलुकका जनता लोकतन्त्रको सट्टा निरंकुशतन्त्रलाई समर्थन गर्न तयार हुँदैनन् भन्नेमा आफू ढुक्क रहेको भन्दै पोरखेलले इतिहासको पांग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै असफल बनाउनेमा ढुक्क भएको बताए।

सञ्चारमाध्यममा अध्यक्ष ओलीले आफ्नो सरकार परिवर्तन गर्न भारतको कूटनीतिक पहल भइरहेको भन्दै त्यसको जवाफ दिने चेतावनी दिएको उल्लेख गरेपछि उनको यो विज्ञप्ति आएको हो।

‘वर्तमान सरकार नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउन, कुनै समस्या भए कूटनीतिक माध्यमबाट समाधान गर्न र बलियो विकास साझेदारी अघि बढाउन प्रतिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ।

चैत ११, २०८१ सोमबार १४:१५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।