नेपालमा ६८ हजार क्षयरोगी, ४० प्रतिशत अझै पनि उपचारको पहुँच बाहिर

नेपालमा ६८ हजार क्षयरोगी, ४० प्रतिशत अझै पनि उपचारको पहुँच बाहिर

काठमाडौं : विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनअनुसार नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन्। राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि यही तथ्यांकलाई आधार मान्छ।

अब केन्द्रले नै मानेको तथ्यांक हेर्दा देशमा ४० हजार ७७६ जना क्षयरोग लागेका व्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन्। यसरी हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) व्यक्ति अझै उपचारको पहुँचमा नभएको देखिन्छ।

आखिर उनीहरू उपचारको दायरामा किन आएनन त? केन्द्रका निर्देशक डा. श्रीराम तिवारी, पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको तर्क गर्छन्।

‘रोग लागेपछि हुने आर्थिक भारको डरले समेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको अवस्था छ’, २४ मार्चमा मनाइने क्षयरोग दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक तिवारी भन्छन्।

नका अनुसार लुकेर बसेकाहरूलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भइरहेको छ। त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ।

डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिलाभन्दा पुरुषको संख्या बढी छ। गत वर्षको तथ्यांकलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन्। ८.६ प्रतिशत १४ वर्षभन्दा कम उमेरका बालबालिका छन्। उनीहरूले नियमित औषधि सेवन गरिरहेका छन्।

औषधि सेवन गरिरहेकामध्ये पनि ०-१४ वर्ष उमेरका ८.६ प्रतिशत छन्। यस्तै १५ देखि ६४ वर्ष उमेर समूहका ६८ प्रतिशत व्यक्तिलाई क्षयरोग लागेको देखिन्छ भने ६५ वर्ष माथिका २३ प्रतिशतले औषधि सेवन गर्दै आइरहेका छन्।

केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको  छ। जसको मृत्युदर प्रति एक लाखमा ५४ हो।

नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ। क्षयरोग अन्त्यका लागि बजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक तिवारी बताउँछन्।

‘सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिए पनि ११० मिलियन डलर मात्रै उपलब्ध छ। अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ’, डा तिवारी भन्छन्।

क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको र सोही कारण लक्ष्य प्राप्तिमा समस्या हुने गरेको उनको भनाइ छ।

औषधि सेवन गरेर क्षयरोग लागेपछि पूर्ण रूपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशतभन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साह बताउँछन्। ठूलो संख्यामा बिरामीहरू उपचारमा नआउँदा समस्या बढेको उनको भनाइ छ।

‘उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँ-नयाँ विधिहरू थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ’, डा. साह भन्छन्।

क्षयरोग लागेपछि पूर्ण रूपमा निको पार्न छ महिना नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ। क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट बच्न सकिने उनको भनाइ छ।

नेपालभरी क्षयरोग उपचारका लागि ६२४१ स्वास्थ्य संस्था र निदानका सेवाहरू ८ सय स्वास्थ्य संस्थामा नि:शुल्क उपलब्ध छन्। यस्तै नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण हुन्छ। क्षयरोगको उपचार र औषधि निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ।

महेश्वर गौतम/नेपाल न्यूज बैंक

चैत ११, २०८१ सोमबार ११:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।