०.१२ सेकेन्डमा धोनीको स्टम्पिङ, आईपीएलमा १८औं पटक शून्यमा आउट भए रोहित

०.१२ सेकेन्डमा धोनीको स्टम्पिङ, आईपीएलमा १८औं पटक शून्यमा आउट भए रोहित

एजेन्सी : इन्डियन प्रिमियर लिग(आईपीएल)को आइतबार खेलिएको दोस्रो खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गर्यो।

चेपक रंगशालामा एमआईले चेन्नईलाई १५६ रनको लक्ष्य दियो। जवाफमा चेन्नईले कप्तान ऋतुराज गायकवाड र रचिन रविन्द्रको अर्धशतकको मद्दतले ६ विकेटमा १५८ रन बनाएर जित हात पार्यो।

खेलको क्रममा मैदानमा केही रोचक दृश्य देखिए। रायन रिकेलटन आउट भएपछि आफ्नो ब्याटले स्टम्पमा प्रहार गरे भने एमएस धोनीले ०.१२ सेकेन्डमा सूर्याकुमार यादवलाई स्टम्प गरे।

त्यसैगरी रोहित शर्मा आईपीएलमा १८औं पटक शून्यमा आउट भए। मुम्बईका रोहित शर्मा खाता नखोलीकनै पेभेलियन फर्किए। पहिलो ओभरको चौथो बलमा खलिल अहमदले उनलाई मिडविकेटमा शिवम दुबेको हातबाट क्याच गराए।

रोहित शर्माले आईपीएलमा सबैभन्दा धेरै पटक शून्यमा आउट हुने मामिलामा ग्लेन म्याक्सवेल र दिनेश कार्तिकको बराबरी गरे। यी तीनै खेलाडी १८-१८ पटक शून्यमा आउट भएका छन्।

यस्तै तेस्रो ओभरमा मुम्बई इन्डियन्सले दोस्रो विकेट गुमायो। ओभरको दोस्रो बलमा खलिल अहमदले रायन रिकेलटनलाई बोल्ड गरे। आउट भएपछि, रिकेलटनले रिसाउँदै आफ्नो ब्याटले स्टम्पमा प्रहार गरे।

उता, ३५९० दिनपछि चेन्नई फर्किएका रविचन्द्रन आश्विनले आफ्नो पहिलो ओभरमा विकेट लिए। उनले इनिङको पाँचौं ओभरमा विल ज्याक्सलाई क्याच आउट गराए। अश्विनले चौथो बल गुड लेन्थ बलमा फाले। ज्याक्सले मिड-अफमाथि ठूलो प्रहार गरे तर शिवम दुबेले उनलाई क्याच गरे। ज्याक्सले ७ बलमा ११ रन बनाए।

त्यसैगरी, ११औं ओभरमा नूर अहमदले सूर्यकुमार यादवलाई आउट गरे। उनलाई विकेट पछाडि रहेका एमएस धोनीले यति छिटो स्टम्प आउट गरेकी यादवले पछाडि गोडा सार्नै भ्याएनन्।मुम्बईका कप्तान सूर्यकुमार यादव अगाडि आएर ठूलो सट खेल्न चाहन्थे, तर चुके।

अर्कोतर्फ १८औं ओभरको अन्तिम बलमा मुम्बईले आफ्नो आठौं विकेट गुमायो। नाथन एलिसको सर्ट अफ लेन्थ बल मिचेल सान्टनरको प्याडमा लाग्यो। चेन्नईको टोलीले अपील गर्यो र अम्पायरले नटआउट दिए। कप्तान ऋतुराज गायकवाडले एमएस धोनीको सल्लाहमा समीक्षा लिए। डीआरएसले सान्टनर आउट भएको देखायो।

चैत ११, २०८१ सोमबार १०:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।