नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

नेपाली चलचित्रमा काम गर्ने मनिषाको चाहना

काठमाडौं : अभिनेत्री मनिषा कोइरालाले नेपाली चलचित्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छन्।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरू ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उनले फेरि नेपाली चलचित्रमा काम गर्न इच्छा व्यक्त गरेकी हुन्।

उनले भनिन्, ‘म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ। पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु।’

विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने भन्दै उनले पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गरिन्।

‘मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ। यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो’, अभिनेत्री कोइरालाले भनिन्।

अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताइन्। उनले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिइन्।

कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गरेकी थिइन्। उनले पछि नेपाली चलचित्र ‘धर्मा’मा समेत अभिनय गरिन्।

चैत ११, २०८१ सोमबार ०७:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।