भ्रष्टाचारमुक्त मुलुक बनाउन अग्रसरता लिने कांग्रेसको निर्णय

काठमाडौँ : नेपाली कांग्रेसले नेपालको संविधान र संविधानमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहँदै अग्रसरता लिने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको संरक्षण, सम्वर्द्धन र कार्यान्वयनमार्फत मुलुकलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त, सामाजिक विकृति र विसङ्गतिबाट मुक्त बनाउँदै जनताको निरन्तर प्रगतिको अपेक्षा र आवश्यकता सम्बोधन गर्न सकिने उल्लेख गरेको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार बैठकले गणतन्त्रको सुदृढीकरणका अहिलेको आवश्यकता भएको भन्दै यसलाई सुदृढ गर्न अग्रसरता लिने निर्णय गरेको छ।
जनसम्पर्क समितिमा दुई प्रकारका सदस्यताको व्यवस्था
बैठकले पार्टीको विदेशस्थित जनसम्पर्क समितिमा कांग्रेसको क्रियाशील सदस्यता र जनसम्पर्क समितिको सदस्यता गरी दुई किसिमका सदस्य रहने व्यवस्था गरेको छ। नेपाली जनसम्पर्क समितिको अध्यक्ष, पदाधिकारी वा सदस्य नेपाली जनसम्पर्क समितिको विधानमा व्यवस्था भएबमोजिम क्रियाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता प्राप्त गरेको सदस्यमध्येबाट चयन हुनसक्ने निर्णय गरिएको छ।
यस व्यवस्थाअनुसार, जनसम्पर्क समितिको सदस्यता प्राप्त गर्न गैरआवासीय नेपाली परिचयपत्र वा गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई समेत बाधा नपुग्ने निर्णय गरिएको छ। साथै, जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यवस्था हटाइएको छ।
यो व्यवस्था लागू हुनुपूर्व क्रियाशील सदस्यता प्राप्त गरेका त्यस्ता नागरिकहरूको हकमा निजहरूले प्राप्त गरेको क्रियाशील सदस्यता जनसम्पर्क समितिको सदस्यतामा रूपान्तरित हुनेछ। साथै, निजले प्राप्त गरेको साबिकको क्रियाशील सदस्यतालाई सोही अवधिदेखि पार्टीमा संलग्नताको निरन्तरतामा समेत गणना गरिने निर्णय भएको पराजुलीले जानकारी दिए।
महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य सम्बन्धी निर्णय
पार्टी केन्द्रीय कार्यसमितिले विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि सङ्ख्या तोक्दा एउटा देशबाट बढीमा १४ जना र केन्द्रीय महासमिति सदस्य तोक्दा छ जनाभन्दा बढी तोक्न सक्ने व्यवस्था गरेको छ। कांग्रेसले पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुन अनिवार्य क्रियाशील सदस्य हुनुपर्ने निर्णय गरेको छ। बैठकले पार्टीको नियमावलीमा आवश्यक संशोधनसमेत गरेको छ।
यसैगरि बैठकले सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने सन्दर्भमा स्थानीय दलित समुदायका दीपक मरिकको घर भत्काउने कार्य सामाजिक रूपमा निन्दनीय र कानुनी रूपमा दण्डनीय अपराध भएको उल्लेख गर्दै उक्त घटनाका दोषीमाथि कारबाहीको माग गरेको छ।
बैठकले नेपाली कांग्रेस (बिपी) को साधारण सदस्यतासमेत परित्याग गरी पार्टीमा समाहित भएका हरिबोल भट्टराई, पुष्पराज पराजुली, गोविन्द शर्मा पौडेललगायत १२ जनालाई पार्टीका विभिन्न पदमा गरिएको मनोनयनलाई अनुमोदन गरेको छ।
चैत १०, २०८१ आइतबार २२:०२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।