उद्यमी बासन्तीको प्रसव पीडा र खुसी : आमा र बच्चाको जस्तो सम्बन्ध कसैको पनि नहुने रहेछ

तीस वर्ष भन्दा बढी समय पुष्प व्यवसायमा रमाइरहेकी बासन्ती प्रधान बाटिका नेपालको सिइओ रहेकी उनी सार्क चेम्बर महिला उद्यमी परिषद्देखि महिला उद्यमी महासङ्घमा समेत सक्रिय छिन्।
१७ वर्षकै उमेरमा बहिनी र श्रीमान् मिलेर 'गार्मेन्ट' उद्योगमा होमिइन्। सानो तहबाट सुरु गरेको त्यो उद्योग अमेरिकासम्म पुग्यो। उनीहरूले रातारात दिल्लीबाट मेशिन मगाएर काम गर्न थाले। तीन सय भन्दा बढी कामदार थिए। धमाधम अर्डर आइरहेको बेला भारतले नाकाबन्दी लगाएपछि सबै सामान भन्सारबाट आउन सकेन।
नाकाबन्दी खुल्ने समयसम्म उनीहरू 'ब्याक्रप्सी'मा परिसकेको थियो। त्यसपछि उनको विवाह भयो। विवाहपछि आफ्नै स्कुलमा सह-प्रधानाध्यापक भएर पढाउन थालिन्। अनि अरु भन्दा फरक व्यवसाय गर्ने भनेर पुष्प व्यवसायतिर लागिन्। पुष्प बजार बुझिन्। 'बुके' बनाउन सिकिन्।
पुष्प व्यवसायलाई उद्यमको रूपमा अगाडि बढाउन लागेका उनी दुई सन्तानकी आमा समेत हुन्। उनै उद्यमी बासन्तीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :
OOO
मेरो बुबा अञ्चलाधीश हुनुहुन्थ्यो। उहाँ कैलालीको अञ्चलाधीश हुँदा म जन्मिएको रे। म र मेरो बहिनी (भवानी राना) सानै देखि होस्टेलमा हुर्कियौँ। त्यसबेला लामो बिदामा भने हामी मुमा र बुबासँगै गाउँ गाउँमा जान्थ्यौँ।
हाम्रो परिवारमा सबै सरकारी जागिरे। हामी दुई दिदीबहिनीले उद्यम नै रोज्यौँ। सेन्टमेरिजको होस्टेलमा खेलकुददेखि पढाइसम्म निकै राम्रो भयो।
पढे-लेखेको परिवार अनि होस्टेलमा पनि महिलाहरूको वरपर बसेर होला, हामीलाई कहिले पनि महिला र पुरुषबीच भेद हुन्छ भनेर सिकाइएन।
हाम्रो मुमा वित्तीयमा असाध्यै राम्रो हुनुहुन्थ्यो। सबैको माया पाएर हुर्किएको दिदीबहिनी सधैँ सँगै भयौँ। माइक्रो बायोलोजीको विद्यार्थी, म निकै पढ्ने गर्छु। उद्यम गर्ने भनेर मैले फेशनको कपडा सम्बन्धी निकै रिसर्च गरेँ।
त्यसबेला मेरो श्रीमानको काठमाडौँ बुटिक भनेर ठुलो बुटिक थियो। काम गर्न जाने बेलामा उहाँसँग भेटे भएको हो। मेरो बुवालाई त उहाँ मन परेको थिएन। उहाँले हाम्रो विवाहलाई नाइँ चैँ भन्नु भएन।
मेरो लभ म्यारिज हो। त्यो पनि अन्तर्जातीय। बिहेपछि छोरीबाट म सिधै बुहारी हुन पुगेँ। जसले जे भने पनि नेपाली परिवारमा छोरी र बुहारीको भूमिका त फरक हुने नै भयो। मलाई चैँ त्यो बेलामा ठुलो झट्का लागेको थियो।
बिहे भएपछि भने केही फरक भयो। विवाह पछि नै हो मैले छोरा र छोरीमा विभेद हुने रहेछ भनेर थाहा पाएको। पहिला त अनुभव भएको थिएन।
विवाह भन्दा अगाडि नै उद्यम गर्दा धेरै राम्रो भएकोदेखि डुबेकोसम्म हेरेका थियौँ। बिहेपछि कामको लागि रोकतोक भएन। आफ्नै केही गर्नुपर्छ भन्ने कुरा आयो। त्यो बेलामा मैले युएन अथवा कुनै एम्बेसीमा काम गरेर राम्रो तलब पाउन सक्थेँ। तर स्कुलमा थोरै तलब भए पनि आफ्नै काम सुरु गरेँ।
श्रीमान् र म दुवै पुष्प व्यवसायमा लाग्यौँ। त्यसपछि परिवारमा पनि सहज हुँदै गयो। बजार बुझेर सुरुमा हामीले भारतबाट फुल आयात गरेर नै व्यवसाय सुरु गर्यौ।
अहिले पनि त्रिपुरेश्वरको एउटा लाइनभरि फुलै फुल देख्न सकिन्छ, पहिला त्यहाँ हाम्रो मात्र थियो। काटेको फुल बाल्टिनबाट निकालेर 'यो रोप्ने हो ?’ भनेर समेत सोध्थे ग्राहकले।
'बुके'को चलन खासै आइसकेको थिएन। तर केही व्यक्तिहरूको राम्रै माग हुन्थ्यो। मलाई सम्झना भएसम्म दिवाकर गोल्छाको छोरी हामीकहाँ सधैँ बुके लिन आउनुहुन्थ्यो। त्यस बेलामा मलाई बुके बनाउन आउँदैनथ्यो। उहाँले नै यसरी दिनु भनेर सिकाउनु पनि भयो। मेरो धेरै ग्राहकहरू त्यसरी नै बने।
मेरो दुई जना सन्तान छन्, एक छोरा,एक छोरी। पहिलो छोरी भइन्। विवाह गरेको डेढ/दुई वर्ष पछि छोरी भएको हो। त्यो बेलामा परिवार योजना, नियोजन भन्ने जस्तो केही थाहै थिएन। दुवै जना अनजानमै भए। तर सबै राम्रो भयो। छोरी जन्मिएको चार वर्ष पछि छोरा जन्मियो।
गर्भवती भएको थाहा पाउँदा मैले कुनै आत्मालाई नौ महिना गर्भमा राखेर जन्माउँदै छु भन्ने अनुभव भयो। यो संसारमा अब मेरो कोही आउँदै छ भन्ने अनुभव हुने रहेछ। मातृत्वको अनुभव गर्न पाउने भएर म निकै उत्साहित थिएँ। नौ महिना नै सक्नेजति सबै काम पनि गरेँ।
प्रसव व्यथा हुन्छ भनेर त थाहा थियो तर कस्तो हुन्छ भनेर थाहा थिएन। प्रसव व्यथामा निकै गाह्रो हुन्छ भनेर पहिला देखि नै परिचितहरूले भनी नै रहे।
त्यही गाह्रो नहोस् भनेर मैले आराम गरिनँ। गर्भावस्थाभर मैले खुब अभ्यास पनि गरेँ। पौष्टिक खाना पनि खाएँ। एउटा साथीले गर्भावस्थामा के गर्ने/नगर्ने भन्ने किताब दिनु भएको थियो। त्यो किताब पढेर पनि मैले धेरै कुरा सिकेँ।
मेरो मुमाले पनि मलाई खुब हेर्नुभयो। उहाँले त हाम्रो छोरी भएपछि पनि निकै हेर्नुभयो। हाम्रो छोरीलाई त मुमाको कान्छी छोरी नै भन्थ्यौँ।
हजुरआमाको माया पाएर पनि होला छोरी निकै पाको भइन्। बच्चालाई राम्रोसँग हुर्काउने हो भने हजुरआमा-हजुरबाबाको माया त चाहिने नै रहेछ। जसले गर्दा उनीहरू थप सामाजिक हुने रहेछ।
गर्भावस्थाको नौ महिनासम्म मलाई केही गाह्रो भएन। त्यै भएर पनि म गर्भवती भएको कुरा प्राय कसैलाई थाहा थिएन। स्कुलमा बिदा लिने बेलामा त्यहाँको साथीहरूले थाहा पाए।
मेरो तौल पनि बढेकै थिएन। एकदम पातली थिएँ म। मलाई खुब गुलियो खान मन लाग्थ्यो। स्कुल जाँदा सधैँ बाहिर दुई वटा जलेबी खान्थेँ।
त्यो भन्दा अगाडि म खासै गुलियो खान्नथेँ। गर्भावस्थामा नरिवल पानी खानुपर्छ, कपाल राम्रो हुन्छ भन्ने सुनेको थिएँ। तर काठमाडौँमा नरिवल-पानी पाउन गाह्रो। भारतबाट मगाएर भए पनि खाएँ।
मेरो दुवै बच्चाको जन्म हस्पिटलमा प्राकृतिक रूपमा नै भयो। दुवै सन्तानबीच चार वर्षको उमेर अन्तर छ। जन्मिने मिति भइसके पनि मलाई व्यथा भने लागेन। अनि हामी हस्पिटल गयौँ। मलाई प्रसव व्यथा नै नलागेपछि औषधी चढाउन परेको थियो। अनि मात्र छोरी जन्मिएको हो।
अझ बाबुको समयमा त घरमै वाटरब्रेक भइसकेको थियो। तर पनि व्यथा लागेन। अनि मैले डाक्टरलाई छोरीको समयमा औषधी चढाउनु परेको थियो भने। पछि औषधी चढाइयो। त्यसको आधा घण्टा पछि त मैले छोरालाई जन्म दिएँ।
मेरो दुवै सन्तान तीन केजीका थिए। मेरो बच्चा देखेर नर्सहरू दङ्ग परेर कति ठुलो बच्चा भनेर हेर्न आउँथे। अनि बुबा पनि ठुलै होला भन्थेँ। तर उसको बुबा र म बराबर नै थियौँ त्यसबेला।
नानीलाई पहिलो पटक देख्दा त ओहो! आमा र बच्चाको जस्तो सम्बन्ध कसैको पनि नहुने रहेछ भन्ने अनुभव भयो। बच्चालाई आफ्नो दूध खुवाउँदाको अनुभव त झन् के भनौँ र!
पहिला देखिनै म र मेरो बहिनिलाई बच्चाहरू खुब मन पर्ने। त्यही भएर पनि म जति नै मेरो बहिनी, मुमा र बुबा खुसी हुनुभयो।
स्तनपान हस्पिटलमै सिकायो। मेरा लागि एकदम सहज भयो। त्यही भएर पनि म मातृत्वको लागि जन्मिएको रहेछु जस्तो लाग्छ। मलाई त्यसबेला गाह्रो भएको भए त म यसको लागि जन्मिएको होइन रहेछ भन्ने लाग्थ्यो होला।
सन्तान हुर्काउन त मुमाले नै सबै हेरिदिनु भएको हो। म काम गर्थेँ, उहाँले छोरी हेरिदिनु हुन्थ्यो। छोरालाई दूध खुवाउने बेलामा पनि मैले छोरीलाई दूध खुवाइदिन्थे। 'दो अनमोल रतन'भन्छन् नि, त्यस्तै अनुभव भयो मलाई।
अहिले त दुवैको पढाइ सक्किसक्यो। एउटा फाइन आर्टमा लागेको छ। अर्को अस्ट्रेलियामा फुटबल खेल्छ। मैले उनीहरूको लागि जे जति गर्न सक्थे सबै गरेको छु जस्तो लाग्छ। तर फेरि पनि पुरानो दिनमा फर्कन मिल्ने भए म सबै कुरा छोडेर उनीहरूलाई समय दिन्थेँ भन्ने लाग्छ।
प्रसव पीडाका यसअघिका सामग्री
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
चैत १०, २०८१ आइतबार २०:५५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।