नाबालिग बलात्कार मुद्दा घटाउने विकल्प विवाहयोग्य उमेर घटाउने वा रोमियो जुलियट कानुन हुनसक्छ र!

काठमाडौं : समाजका प्रभावशालीहरू नै एकपछि अर्को गर्दै नाबालिग बलात्कार घटनामा जोडिएसँगै नेपालमा कायम विवाहयोग्य उमेर बहसमा आयो। कलाकार पल शाह अनि क्रिकेटर सन्दीप लामिछाने नाबालिग बलात्कारको मुद्दामा परे।
उनका पक्षमा रहेकाहरूले ‘पहिला सहमतिमा सम्बन्ध बनाउने पछि मुद्दा लगाएर’ फसाउने भन्दै कुतर्क समेत गरे। यसको प्रभाव संसददेखि सरकारसम्ममा पर्यो।
नेपालको कानुनले १८ भन्दा भन्दा कम उमेरकाबीच सहमतीमै यौन सम्बन्ध कायम भए पनि त्यसलाई बलात्कार मान्छ। नेपालमा १८ भन्दा कम उमेरमै विवाह हुने गरेको अनि नाबालिग बलात्कारका अधिकांश घटनामा पहिला सहमतिमा सम्बन्ध राख्ने र पछि परिवारले थाहा पाए वा मनमुटाब भएमा बलात्कारको मुद्दामा जाने गरेको भनेर आलोचना सुरु भयो।
कानुन अनुसार विवाहयोग्य उमेर अहिले २० वर्ष छ। सांसदहरू नै यौन सम्बन्ध राख्ने र विवाहयोग्य हुने उमेर घटाउनुपर्ने पक्षमा लबिङमै लागे। यौन सम्बन्ध अनि विवाहको उमेर परिपक्व हुने उमेरको वैज्ञानिक आधारमा कायम हुने गरेको छ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको छलफलमा वैवाहिक उमेर घटाउनुपर्ने पक्षमा बहसमा उत्रिने अधिकांश सांसदहरूले वैवाहिक उमेर घटाउनुपर्ने कारणलाई यौनसँग लगेर जोड्ने गरेका छन्। यो नाबालिग बलात्कारसँग लगेर जोड्ने गरेका छन्।
समितिको आइतबारको छलफलमा यही विषयमा छलफल भयो। सांसदहरूले यसबारे आफ्नो धारणा राख्दै वैवाहिक उमेर घटाउने पक्षमा आफ्नो धारणा राखे। सांसद सुशीला थिङले
एक भाइको केस हेरेको भन्दै बाल विवाहमा सजाय कम रहेकाले बाल विवाहको घटनामा पनि नाबालिग बलात्कारको मुद्दा लाग्ने गरेको तर्क गरिन्। उनले छलफलमा सन्दीप लामिछानेको प्रसङ्गलाई समेत उमेर घटाउनु पर्ने तर्कमा उदाहरणका रूपमा पेस गरेकी थिइन्।
‘नागरिकता १६ वर्षमै पाइने तर विवाहका लागि २० वर्ष उमेर किन भन्ने प्रश्नहरू उठिरहेका छन्। यसमा पुनर्विचार गर्नुपर्छ’ उनले भनिन्। अन्य संसदहरूको मत पनि यस्तै देखियो।
सांसद सन्तोष परियारले विवाहको उमेर बलात्कारसँग मात्र नजोडिएर स्वास्थ्यसँग समेत जोडिने गरेको बताए। उनले छलफलमा अन्तर्जातीय विवाहमा यो कानुनको धेरै दुरुपयोग हुने गरेको धारणा राख्दै भने 'जातीय समस्या समाधान गर्न मात्र विवाहको उमेर घटाउनुपर्छ भन्ने हैन तर समस्या समाधानका लागि कानुनी रुपमा सम्बोधन गर्न सकिन्छ।'
समितिको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखक वैवाहिक उमेर घटाउनुपर्ने पक्षमा देखिए। छलफलमा उनले विवाहको उमेरबारे गम्भीर तरिकाले सोच्नुपर्ने समय आएको बताए। उनले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्नुपर्नेबारे सोच्नै पर्ने तर्क गरे।
उनले ऐन संशोधनको प्रक्रिया अहिले मन्त्रिपरिषद्मा विचाराधीन अवस्थामा रहेको र विधेयकमा विवाहको उमेर घटाउने हो कि भनेर छलफल गरिरहेको उनले जानकारी दिए।
विवाहको उमेर घटाउने अनि नाबालिग बलात्कारसम्बन्धी कानुनी पक्षको सम्बोधनका लागि रोमियो-जुलियट मोडलमा जानुपर्ने तर्क गरे। समितिको बैठकमा उनले १६ वर्षको उमेरमा सहमतिका आधारमा हुने शारीरिक सम्बन्ध नाबालिग बलात्कारमा पार्न नहुने आशय देखियो।
उनले समितिको बैठकमा नाबालिग बलात्कारमा लागु हुनसक्ने रोमियो-जुलियट प्रावधानबारे संक्षेपमा उल्लेख गर्दै भने ‘मानौँ १८ वर्ष विवाहको उमेर तोक्यो। १६ देखि १८ वर्षसम्मको उमेरमा शारीरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न मिल्दैन।’
उनले रोमियो-जुलियट मोडलका लागि केही अन्तर्राष्ट्रिय सर्तहरू र त्यसमा सजग हुनुपर्ने भन्दै तत्कालका लागि उमेर घटाएर अघि बढ्दा विषयवस्तुको समाधान हुनसक्ने दाबी गरे।
गृहमन्त्री लेखकले छलफलहरूमा नेपालमा बालबालिका सम्बन्धी ऐन संशोधनको क्रममा रहेको भन्दै अहिले विवाहको उमेर घटाएर १८ वर्ष पुर्याउने वा रोमियो जुलियट मोडल अपनाउने विषयमा छलफल भइरहेको बताए।
‘अहिले कतै वैवाहिक उमेर नै घटाउने हो कि वा रोमियो-जुलियट अवधारणामा जानुपर्यो। यी दुईमध्ये एकमा जानुपर्छ,’ उनले छलफलमा भने ‘ यी दुईमध्ये एकमा जानै पर्छ। मेरो विचारमा वैवाहिक उमेर घटाएर जान सकिन्छ। यसबारे विस्तृत छलफल गरेर सुझाव दिनुहोला।’ यही गर्नुपर्छ भन्ने छैन। सरकार यसमा खुला छ।’
गृहमन्त्रीले भनेको रोमियो जुलियट कानुन के हो?
सेक्सपियरको प्रसिद्ध नाटक ‘रोमियो एन्ड जुलियट’ बाट नामकरण भएको यो कानुनले नजिकको उमेर समूहका युवाहरूबीच सहमतिमा हुने यौन सम्बन्धलाई कानुनी सुरक्षाका लागि प्रयोग हुन्छ। यसले जवर्जस्ती हुने यौन सम्बन्धलाई सम्बोधन गर्दैन। दुई प्रेमीबीचको सम्बन्धलाई यसले सम्बोधन गर्छ। जस अनुसार :
- उमेरका दृष्टिले नजिक रहेका युवाहरूबीच हुने सहमतिपूर्ण यौन सम्बन्धका लागि कडा दण्ड सजायबाट सुरक्षा प्रदान गर्ने
- यौन सम्बन्ध भएकामध्ये एक पक्ष कानुनी रूपमा नाबालिग भए पनि समान उमेरका युवाहरूलाई अपराधी वा यौन अपराधी हुनबाट जोगाउने
- युवा र वयस्कहरूको सम्बन्धको जटिलतासँगै सुरक्षा दिने
यो कानुनले यौन सम्बन्ध राख्न या विवाह गर्न योग्य उमेर तोकेको अवस्थामा त्योभन्दा कम उमेर समूहमा हुने गतिविधिकै आधारमा हुने सजायबाट सम्बन्धितको सुरक्षामा जोड दिने गरेको देखिन्छ। यसमा कानुनी रूपमा वैध उमेरबाट २-४ वर्षको उमेर अन्तरलाई मान्यता दिने, केवल सहमतिपूर्ण सम्बन्धमा मात्र लागू हुने, जबरजस्ती, दबाब वा दुरुपयोगमा यो लागु नहुने प्रावधानहरू रहेको देखिन्छ।
विभिन्न देशहरूमा यो कानुन कार्यान्वयनमा देखिन्छ। अमेरिकामा पनि यो कानुनी प्रावधान कार्यान्वयनमा छ तर राज्यपिच्छे नियम फरक छन्। समग्रमा १४ देखि २३ वर्षसम्मका उमेर समूहबिच सहमतिमा यौन सम्बन्ध हुनसक्ने देखिन्छ।
क्यानडामा सहमतिमा हुने यौन सम्बन्धको उमेर १६ वर्ष तोकिएको छ। १४ वर्ष उमेर समूहकाले ५ वर्ष बढी उमेरका व्यक्तिसँग समेत सहमतिपूर्ण सम्बन्ध राख्न सक्ने कानुनी प्रावधान छ। १२-१३ वर्ष उमेर समूहका हकमा २ वर्षसम्म बढी उमेरका व्यक्तिसँग सहमतिपूर्ण सम्बन्ध राख्न सक्ने कानुनी प्रावधान छ।
बेलायतमा रोमियो जुलियट कानुन छैन। यौन सम्बन्धको सहमतिको उमेर १६ वर्ष छ।
चैत १०, २०८१ आइतबार १६:३३:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।