प्रधानमन्त्री कपमा किरण ठगुन्नाको दोस्रो शतक

प्रधानमन्त्री कपमा किरण ठगुन्नाको दोस्रो शतक

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशका लागि किरण ठगुन्नाले शतकीय पारी खेलेका छन्।

लमहीको देउखुरी क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले ४३.४ ओभरमा अलआउट हुँदै २४२ रन बनायो।

उसका लागि ठगुन्नाले ९१ बलमा ११५ रनको शतकीय पारी खेल्दा टेक रावल १६ तथा नारायण जोशी र शेर मल्ल मात्र १४ रनमा आउट भए। जारी प्रधानमन्त्री कपमा किरणको यो दोस्रो शतक हो।

कोशीका ज्ञानेन्द्र श्रेष्ठले चार विकेट लिँदा अंकित सुवेदी र फिरदोस अन्सारीले दुई–दुई विकेट हात पारे।

यता सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४३ रन बनाए।

उसका लागि बसीर अहमदले ८६ रन बनाउँदा भिम सार्कीले ४४ रन बनाए। बलिङतर्फ लुम्बिनी प्रदेशका अजय चौहानले चार विकेट लिए।

तिलोत्तमाको एक्स्ट्राटेक ओभलमा गण्डकी प्रदेशविरुद्ध टस हारेर पहिला ब्याटिङमा तानिएको एपीएफले ४९.२ ओभरमा अलआउट हुँदै २५८ रन बनायो।

उसका लागि आशिफ शेखले ८० रनको अर्धशतकीय पारी खेल्दा लोकस बमले ४६ रनको पारी खेले। सुमित महर्जनले ३१ रन बनाउँदा कमलसिंह ऐरीले २५ रन जोडे।

बलिङतर्फ सुदिप अर्याल र सन्दीप पराजुलीले समान तीन–तीन विकेट लिँदा कमल परियारले दुई विकेट लिए।

चैत १०, २०८१ आइतबार १२:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।