मादलबाट माछामा आश्रित भेरी किनारका वादी समुदाय, विषादी प्रयोग र नदी दोहनले जीविकामै संकट

मादलबाट माछामा आश्रित भेरी किनारका वादी समुदाय, विषादी प्रयोग र नदी दोहनले जीविकामै संकट

सुर्खेत : भेरीगंगा नगरपालिका-२ खोचेखोलाका ६६ वर्षीय दलबहादुर वादीको पुर्ख्यौली पेशा मादल बनाउने हो। उनका पुर्खाले त्यही पेशाबाटै जीविका चलाए। उनी पनि चलाइरहेकै थिए। तर, यसले उपति लाग्छ भन्ने विश्वास नभएपछि दलबहादुर माछा मार्न लागे।

२०४० सालमा दलबहादुरको परिवारले नै पेशा परिवर्तन गरेर माछा मार्न थाल्यो। भेरी किनारको घना जंगलमा दलबहादुरको घर छ। माछा मार्नकै लागि नदीको छेउमा सानो टहरो बनाएर रातदिन बस्छन्। तीन छोरा र एक छोरी उनले माछा मारेर हुर्काए। अहिले पनि त्यसैगरी गुजारा चलाइरहेका छन्।

‘आधुनिकतासँगै मादल हरायो। त्यसबाट घर व्यवहार चलाउन कठिन हुँदै गयाे। त्यसपछि मात्र भेरीमा माछा मार्न थालेको हुँ। दुई छोरा गाडी चलाउँछन्। एक छोरा मसँगै माछा मार्छ,’ उनले भने, ‘तर अवस्था राम्रो छैन।’

दलबहादुरका कान्छा छोरा ३५ वर्षीय दुर्गाबहादुर माछा मारेर पनि गुजारा चलाउन मुस्किल भएको अनुभव सुनाउँछन्।

‘छोरा-छोरी पढाइरहेको छु, दुई छोरीको बिहे गरिसकेँ, तर आर्थिक अभावले जीवन कठिन बन्दै छ,’ उनले भने, ‘पहिला-पहिला माछा हुन्थे। अहिले नदीमा विष हाल्ने, करेन्ट लगाउने जस्ता कामले माछा पाउनै छोडे।’

उनका अनुसार पहिला दैनिक पाँच-सात किलो मारिने गरेकोमा अहिले नदीमै रातभर जागराम बस्दा पनि एक-दुई किलोभन्दा बढी मार्न सकिँदैन।

खोचेखोलाकै ४२ वर्षीय खिमबहादुर वादी पनि पुर्ख्यौली पेशा छाडेर माछा मार्न सक्रिय छन्। पछिल्ला केही वर्षदेखि माछा मार्ने कामले पनि गुजारा चल्न छाडेको उनको अनुभव छ।

‘नदीमा पानी सुक्दै गयो, माछा पनि घट्दै गए। पहिले भन्दा अहिलेको अवस्था झन् दयनीय छ,’ उनले भने, ‘नदी संरक्षणमा ध्यान नदिए हामीजस्ता नदीमै आश्रित समुदायको जीवन नै सकिन्छ।’

भेरीगंगा नगरपालिका-३ सत्तरीका ५९ वर्षीय प्रेमबहादुर वादी पनि मादल बनाउन छाडेर माछा मार्न थालेको २० वर्ष भयो। पेशा परिवर्तन गरेसँगै समाजमा हुने विभेद धेरै कम भएको उनी सुनाउँछन्।

‘पहिले-पहिले वादी समुदायले छोएको पानी चल्थेन, तर अहिले त्यही पानीको माछा सबैलाई बेच्छौँ। त्यसले हाम्रो पेट पालिएको छ। तर, माछा नदीमा पाउन भने मुस्किल भइरहेको छ। अब यो पेशामा पनि टिक्ने अवस्था छैन’, उनले सुनाए।

पहिला चार छोराहरूलाई यही पेशाबाट हुर्काएको गाथा सुनाउँछन् उनी। तीनमध्ये जेठो छोराले त नेपाली सेनाबाट अवकाश पनि पाइसक्दा अन्य तीन छोरा सवारी चालक रहेछन्।

‘सबै छोराहरू आ-आफ्नो गरेर खाएका छन्। अहिले दुई बुढाबुढी छौँ,’ उनले भने, ‘पहिला माछा बेचेर दैनिक दुई हजार रुपैयाँसम्म कमाउन सकिन्थ्यो। अहिले त्यस्तो छैन। माछा मार्नकै लागि तीन किलोमिटर टाढासम्म जान्छु।’

मादलको माग नभएपछि यो क्षेत्रका वादी समुदाय अहिले माछा मारेरै जीविकोपार्जन गरिरहेका छन्। उनीहरूका लागि नदी नै जीवन हो। तर नदीजन्य पदार्थको दोहनका कारण उनीहरूको जीवन नै संकटमा परिरहेको छ।

नदीमा माछा मार्दा पनि उनीहरू परम्परागत तरिका नै अपनाउँछन्। ट्याक्टरको टायरको प्रयोग गरेर जाल र बल्छीको माध्यमबाट माछा मार्छन्। नदी संरक्षण, विषादी प्रयोगमा रोकथाम र माछा मार्ने पेशालाई दिगो बनाउन राज्यले नीति ल्याउनुपर्ने उनीहरूको माग छ।

चैत १०, २०८१ आइतबार १०:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।