विराटको ब्याटिङ जम्दा आइपिएलको पहिलो खेलमा रोयल च्यालेन्जर्सको शानदार जीत

काठमाडौँ : आईपीएल २०२५ को उद्घाटन दिनको खेलमा रोयल च्यालेन्जर्स बेङगलुरु (आरसीबी) ले कोलकाता नाइट राइडर्स (केकेआर) लाई सहजै पराजित गर्यो। आरसीबीले केकेआरलाई ७ विकेटले हराएर टुर्नामेन्टको सुखद सुरुवात गर्यो।
पहिला ब्याटिङ गर्दै केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो। जवाफमा आरसीबीले १६.२ ओभरमा ७ विकेट बाँकी राख्दै लक्ष्य पुरा गर्यो। आरसीबीका विराटले सबैभन्दा धेरै ५९ रन बनाएका थिए।
उद्घाटन समारोह सकिएपछि भएको टस आरसीबीले जितेर पहिले बलिङ गर्ने निर्णय गर्यो। कोलकाताको सुरुवात बलियो भएन। सलामी ब्याट्सम्यान क्विन्टन डी कक जम्मा चार रन बनाएर जोस हेजलवुडको बलमा आउट भए।
त्यसपछि सुनिल नरेन र अजिंक्य रहाणेले इनिङ सम्हाले। दुवैले दोस्रो विकेटका लागि ५५ बलमा १ य ३ रनको शतकीय साझेदारी गरेका थिए। पहिलो पटक केकेआरको कप्तानी गरिरहेका रहाणेले २५ बलमा आफ्नो आईपीएल करियरको ३१औँ अर्ध शतक पूरा गरे। उनी ३१ बलमा ५६ रन बनाएर आउट भए, जबकि नरेनले पाँच चौका र तीन छक्काको मद्दतले ४४ रन बनाए।
यी दुवै ब्याट्सम्यान आउट भएपछि केकेआरको इनिङ धरमरायो। टिमले त्यसपछि लगातार विकेट गुमायो। अंकृष रघुवंशीले ३०, वेंकटेश अय्यरले ६, आन्द्रे रसेलले ४, हर्षित राणाले ५ रन बनाए। रमनदीप सिंह ६ र स्पेन्सर जोन्सन १ रन बनाएर नटआउट रहे।
आरसीबीका लागि कृणाल पाण्डया सबैभन्दा सफल बलर रहे, उनले तीन विकेट लिए, जबकि जोस हेजलवुडले दुई विकेट लिए। यसका अतिरिक्त यश दयाल, रसिक सलाम र सुयश शर्मालाई एक-एक विकेट लिए।
रोयल च्यालेन्जर्स बेङ्गलुरुको सुरुवात जबरजस्त रह्यो। आरसीबीका सलामी ब्याट्सम्यान फिल साल्ट र विराट कोहलीले पहिलो विकेटका लागि ८.३ ओभरमा ९५ रन जोडे। यी दुवैको साझेदारीले नै खेल एकतर्फी भइसकेको थियो।
फिल साल्ट ३१ बलमा ५६ रन बनाएर आउट भए। उनलाई वरुण चक्रवर्तीले स्पेन्सर जोन्सनको हातमा क्याच आउट गराए। त्यसपछि नम्बर ३ मा ब्याटिङ गर्न आएका देवदत्त पडिक्कल केही खास गर्न सकेनन्। उनी १० रन बनाएर आउट भए।
त्यसपछि विराटको साथ दिन कप्तान रजत पाटीदार आए। पाटीदार १६ बलमा ३४ रन बनाएर आउट भए। विराट कोहली ३६ बलमा ५९ रन बनाएर नटआउट रहे। आफ्नो इनिङ्गमा उनले ४ चौका र ३ छक्का हाने।
यो खेलमा केकेआरका बलरहरू आरसीबीका ब्याट्सम्यानहरूको अगाडि कमजोर देखिए।
चैत ९, २०८१ शनिबार २३:२०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।