पाथीभरा क्षेत्रमा हिउँ पर्यो, शनिवार पुगे १६ सय तीर्थालु

ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा शनिवार दिउँसोदेखि हिउँ परेको छ। दिउँसो सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हल्का हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ।
समितिका कर्मचारी राजेन्द्र महतका अनुसार यस वर्ष पाथीभरामा योसहित चार पटक हिउँ परेको छ। जिल्लाका अधिकांश क्षेत्रमा सामान्य वर्षा भएको छ। पाथीभरा मन्दिरमा एक हजार छ सय ९८ तीर्थयात्री पुगेका छन्। पुस महिनायताको यो सबैभन्दा बढी सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।
पाथीभरामा विशेष गरी बडादसैँ, रामनवमी तथा अन्य धार्मिक अवसरमा भक्तजनको घुइँचो लाग्छ। उनका अनुसार मौसममा सुधार आएसँगै समुद्री सतहबाट तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरामा न्यानो महसुस हुन थालेपछि तीर्थयात्रीको सङ्ख्यामा वृद्धि भइरहेको छ।
चैत ९, २०८१ शनिबार २१:५०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।