सिरहाको जातीय विभेदमा तीन जनाविरुद्ध जाहेरी दर्ता भयो, दुई हिरासतमा, एक जना फरार

सिरहा : महायज्ञका नाममा अछुत भन्दै महायज्ञस्थलमा रहेको स्थानीयको घर भत्काएको र घर रहेको स्थानको माटो ताछेको घटनामा जाहेरी परेको छ।
पीडित परिवारको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो। जाहेरीमा गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरङ्गी बाबालाई प्रतिवादी बनाइएको छ।
प्रहरी उपरीक्षक रमेश पण्डितले पीडित परिवारका तर्फबाट जाहेरी प्राप्त भएको जानकारी दिए। दलित अगुवासहित पुगेर पीडित परिवारका दीपक मरिकले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दिएका छन्।
औरहीका स्थानीयसमेत रहेका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानका अनुसार जाहेरीमा प्रतिवादीहरूले पीडित परिवारमाथि जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित गरेकाले दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ।
घटनामा सङ्लग्न भएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष शुक्रवार नै पक्राउ परिसकेका छन्। बजरङ्गी बाबा भने फरार छन्।
चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा फागुन १० गते अछुत भन्दै महायज्ञस्थलमा रहेको मल्लिकको घर भत्काइएको थियो। गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो।
घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफैँ खटिएका, घर भत्काएपछि उक्त घरले चर्चेको जमिनको माटोसमेत ताछेर फालेपछि जातीय विभेद गरेको भन्दै विरोध भइरहेको छ।
घटनामा संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई शुक्रवार मन्त्रालय तानिसकेको छ। राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगले घटनाबारे स्थलगत अनुगमन गरेर अनुसन्धान अगाडि बढाएका छन्।
चैत ९, २०८१ शनिबार २१:१७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।