लेखा समितीमा टेलिकमविरुद्धका उजुरी : रिचार्ज कार्ड छपाइमा अनियमिततादेखि बिलिङसम्म

काठमाडौँ : सार्वजनिक लेखा समितिले नेपाल टेलिकममा भ्रष्टाचार भएको दाबीसहित परेको ६ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने भएको छ। शुक्रवार बसेको समितिको बैठकले ४८ वटा उजुरीको अनुसन्धान अगाडि बढाउने निर्णय गरेको थियो। ४८ मध्ये ६ वटा नेपाल टेलिकम सम्बन्धी नै छन्।
समितिमा परेका उजुरीहरूमा राजस्व चुहावट गरिएको छ। अन्य उजुरीहरूमा रिचार्ज कार्ड छपाइसम्बन्धी अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चलखेल गरेको दाबी गरिएको छ।
उजुरीमा बोलपत्र गर्दा राखेको ‘चेन्ज स्पेसिफिकेसन’का कारण स्वदेशी उद्योगीहरूले भाग लिन नसक्ने अवस्था सिर्जना गरेकाले टेलिकमको अन्तर्राष्ट्रिय बोलपत्र रद्द वा संशोधनको माग गरिएको छ।
उजुरीमा ‘नेपाल टेलिकमबाट आह्वान भएको बोलपत्र सम्बन्धमा आवश्यक छानबिन तथा अनुसन्धान गरी बोलपत्र बदर गरी कारबाही गरी पुनः नयाँ बोलपत्र आह्वानको’ माग गरिएको छ।
जागरूक नेपाल समाजले पनि यसै विषयमा उजुरी हालेको छ। टेलिकममा हुने अन्तर्राष्ट्रिय बोलपत्रमा कार्यसम्पादनका सर्त उल्लङ्घन भएको अर्को उजुरी रहेको समितिका एक सदस्यले जानकारी दिए।
अन्य उजुरीहरूमा बिलिङ टेन्डरमा धाँधली तथा भ्रष्टाचार भएको, एनसेल र स्मार्ट टेलिकममा अर्बौँको भ्रष्टाचार भएको लगायत रहेका छन्।
चैत ९, २०८१ शनिबार २१:०३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।