पटक-पटक दर्शक झुक्याएका भण्डारीलाई बल्ल लाग्यो ‘मंसिर’

काठमाडौं : गत मंसिर ३ गते काठमाडौंमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक विशाल भण्डारीले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ नामक रियालिटी शो घोषणा गरे।
जम्बो कलाकारको टोलीसहित घोषणा भएको शो मंसिर महिनाभित्रै प्रसारण गर्ने निर्देशक भण्डारीको वाचा थियो। तर, उनले त्यो वाचा पूरा गर्न सकेनन्, दर्शकलाई झुक्याए।
त्यतिबेला उनले तयारी बेगर नै शो घोषणा गरेका थिए। त्यो कुरा उनी आफैँले स्वीकारिसकेका छन् भने त्यसपछिका उनका गतिविधिले पनि पुष्टि गर्दै आइरहेको छ।
पहिलो पटक घोषण गरेर सुटिङै गराउन नसकेका उनले दोस्रो पटक फागुनमा प्रसारण गर्ने भन्दै घोषणा गरे। प्रसारण मिति समेत घोषण गरे उनले– फागुन २० गते। त्यसका लागि फागुन १७ गते सुटिङको मिति तोकियो। फेसबुकमा पोस्टर राखेर दर्शकलाई निम्ता पनि दिइयो।
तर, त्यतिबेलासम्म पनि उनीहरू पूर्ण रूपमा तयार भइसकेका रहेनछन्। उक्त सुटिङ नै पोस्टपोन्ड भयो। कार्यक्रम कहिले सुटिङ हुने भन्नेबारे दर्शकलाई जानकारी नै दिएनन्। हुन त दिउन् पनि कसरी? सेटका लागि चाहिने सोफा सेट र टि टेबलको पत्तो रहनेछ।
चैत ९ गते सुटिङ हुने पक्का भएपछि मात्र उनले चैत ७ गते फेसबुक सेटका लागि चाहिने सोफा र टि टेबल खोज्दै थिए। उसो त सुटिङ सुरू हुने भएपछि शोभित्रकै कमेडियन सुमन कार्कीले निर्देशकलाई बल्ल मंसिर लागेछ भनेर कटाक्ष गर्दै थिए।
जे होस्, भण्डारीले तेस्रो पटकको प्रयासमा ‘कमेडी नाइट विथ च्याम्पियन’को सुटिङ गर्न सफल भए। मुलपानीमा रहेको स्टुडियोमा तीन सय भन्दा बढी दर्शकका अगाडि टोलीले शोको सुटिङ गरिरहेको छ।
७० लाख भन्दा बढी लागतमा बनाइएको ‘कमेडी नाइट विथ च्याम्पियन’को सेटमा नौ जना कमेडियनले प्रस्तुति दिनेछन्।
प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले दर्शकलाई हँसाउनेछन्। अध्यक्षको रुपमा दीपाश्री निरौलालाई निरन्तरता दिइएको छ।
आज सुटिङ सुरू भएसँगै ‘मंसिर’मा प्रसारण गर्छु भनेर पटक-पटक दर्शक झुक्याउँदै आएका निर्देशक भण्डारीलाई यसपटक भने साँच्चै ‘मंसिर’ लागेको देखिन्छ।
चैत ९, २०८१ शनिबार ११:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।