मानवहीन भयो उपल्लो मुस्ताङको सम्जुङ गाउँ, सबै नामासुङमा बसाई सरे

मानवहीन भयो उपल्लो मुस्ताङको सम्जुङ गाउँ, सबै नामासुङमा बसाई सरे

मुस्ताङ : उपल्लो मुस्ताङको सम्जुङ गाउँ पूर्ण रूपमा मानवहीन बनेको छ। डेढ दशकदेखि बेवारिसे अवस्थामा रहेको यस गाउँका १८ घरधुरीका सबै नामासुङ क्षेत्रमा बसाइँ सरे।

जोमसोम-कोरला राजमार्गबाट करिब पाँच घण्टा पैदल दूरीमा रहेको सम्जुङ गाउँमा हिमनदीको स्रोत सुक्दै जानु, सिँचाइ र खानेपानीको अभाव तथा चरन क्षेत्रमा परेको असरका कारण जनजीवन कष्टकर बन्दै गएपछि स्थानीयले बस्ती छाडेका हुन्।

लोमान्थाङ गाउँपालिका-२ मा अवस्थित यस गाउँमा पुरानो शैलीका परम्परागत घरहरू अझै यथावत् भए पनि गाउँ मानिसविहीन छ। बर्खायाममा केही पशुपालकहरू भेडा च्याङ्ग्रा र याक-चौँरी चराउन केही समयका लागि गाउँमा आउँछन्। त्यस बाहेक गाउँ पूर्णतया रित्तो रहेको लोमान्थाङ गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए।

‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अत्यन्तै डरलाग्दो छ। मौसम परिवर्तन, हिमपातको अनियमितता र हिमालहरू कालापत्थरमा रूपान्तरण हुँदै गएपछि यहाँको कृषि र पशुपालनमा सीधा असर परेको छ,’ केसीले भने।

नयाँ बस्तीमा पुनर्वास

सम्जुङका बासिन्दाहरू हाल सोही वडाको नामासुङ क्षेत्रमा बसोबास गर्दैछन्। मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्टले करिब एक सय रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि त्यहाँ नयाँ बस्ती निर्माण भएको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार, प्रत्येक घरधुरीलाई चार-चार आना जग्गामा घर बनाउन र बाँकी क्षेत्रफलमा खेती गर्न दिइएको छ।

नयाँ बस्ती निर्माणमा स्विट्जरल्याण्डको एक संस्थाले ५० प्रतिशत र स्थानीय घरधुरीले ५० प्रतिशत लागत व्यहोरेका छन्। लोमान्थाङ-५ का पूर्व वडाध्यक्ष नवाङकुङ्गा लामा विष्टको समन्वय र पहलमा यो बस्ती स्थानान्तरण सम्भव भएको बताए।

नामासुङ बस्ती जोमसोम-कोरला सडकबाट मात्र १५ मिनेटको दूरीमा अवस्थित छ। यस्ता बस्ती स्थानान्तरणले जलवायु परिवर्तनले हिमाली समुदायहरूमा पारेको प्रभाव र अनुकूलनका चुनौतीहरूलाई प्रस्ट पारेको छ।

-राससको सहयोगमा

चैत ८, २०८१ शुक्रबार २३:२५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।