चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन जान थाल्यो

चितवन : चितवनमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको छ। जिल्ला प्राङ्गारिक सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर चैत ४ देखि जर्मन निर्यात हुन थालेको सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
सङ्घमा आबद्ध किसानले १४ बिघा क्षेत्रफलमा लगाएको चुकन्दर र गाजर विदेश निर्यात सुरु भएको हो। उनका अनुसार अहिलेसम्म ८४ टन चुकन्दर विदेश निर्यातका लागि पठाइसकेको छ। अझै ४२ टन पठाउन बाँकी छ।
तीन वर्षदेखि उत्पादित प्राङ्गारिक गाजर र चुकन्दर विदेश पठाइँदै आएको अधिकारीले जानकारी दिए। पहिलो वर्ष अधिकारीको उत्पादन मात्र जर्मन जाने गरेकोमा यो वर्षबाट अन्य किसानले उत्पादन गरेको गाजर र चुकन्दर पनि पठाउन थालिएको उनले जानकारी दिए।
सुरुवातमा चुकन्दर पठाएपछि गाजर पठाउने तयारी गरिएको अध्यक्ष अधिकारीले बताए। गाजर एक सय ५० टन विदेश निर्यात गरिनेछ। उनका अनुसार द अर्गानिक भ्याली नामक संस्थाले यहाँको उत्पादनलाई विदेश पठाउँदै आएको छ। जर्मनबाट आएका वैज्ञानिकले जमिन प्रमाणीकरण गरेपछि यहाँको उत्पादन निर्यात हुन थालेको हो।
यहाँको २० बिघा क्षेत्रफललाई प्राङ्गारिक क्षेत्रका रूपमा मान्यता पाएको छ। जर्मन जाने गाजर प्रतिकिलो २० र चुकन्दर ५० मा पठाउने गरिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिए।
सङ्घमा आबद्ध १५ जना किसानद्वारा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात सुरु भएको बताउँदै उनले कृषिजन्य उत्पादन निर्यात हुनुले कृषकमा उत्साह थपेको बताए।
चैत ८, २०८१ शुक्रबार २३:११:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।