प्रचण्ड भन्छन् ‘२०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन’

प्रचण्ड भन्छन् ‘२०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन’

पर्सा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको दाबी गरे।

माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस जागरण अभियानमा सहभागी हुन वीरगन्ज पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालको पत्रकार सम्मेलनमा २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा नरहेको दाबी गरे।

सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने उनले बताए। सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध जेहाद नै छेडिएको भन्दै उनले मिटरब्याज पीडितका पक्षमा ऐन निर्माणदेखि नागरिकताविहीन युवाहरूका समस्यामा मलमपट्टी लगाउने काम आफूले गरेको दाबी समेत गरे।

आर्थिक विकासको गति दिन र सुशासन कायम गर्न सरकार बाहिर हुँदा पनि निरन्तर आवाज उठाइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सरकारमा हुँदा वा सरकार बाहिर, माओवादी एउटै हो।’

अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले भ्रष्टाचार र बेथिति प्रोत्साहन गरेको आरोप समेत लगाए।

चैत ८, २०८१ शुक्रबार १७:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।