क्रान्तिको लागि तयार रहनु होला : रवि लामिछाने

क्रान्तिको लागि तयार रहनु होला : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन आग्रह गरेका छन्।

शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानीमा उनले क्रान्तिका लागि तयार रहन आग्रह गरेका हुन्।

सरकार नाङ्गिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको समेत बताएका छन्।

‘जब दुईवटा ठूला राजनीतिक दलहरू मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोला भनेर संसदमै भनेको थिएँ। अहिले त्यही स्मरण गराउन चाहन्छु’, उनले भने।

उनले थपे, ‘सरकार अहिले नाङ्गिएको हुनाले सरकारको लाज छोप्दिन लागि अदालत घुमिरहेको छु। ठाउँ-ठाउँमा पुग्नुपर्ने छ। समय आउँदै छ चाँडै नै। म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु। क्रान्तिको लागि तयार रहनु होला।’

त्यस्तै उनलाई पत्रकारहरूको ‘तपाईंलाई त राजावादी रहेछ भन्ने आरोपहरू पनि आइरहेको छ नि!’ भन्ने प्रश्न गरेका थिए।

जवाफमा उनले आफू आवेग र उत्तेजनामा नभएको भन्दै देश एउटा गम्भीर अवस्थामा आइपुगेको टिप्पणी गरे।

उनले थपे, ‘एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवं भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामा आएर उत्तर दिने पक्षमा छैन।’

चैत ८, २०८१ शुक्रबार १४:०६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।