एएफसी एसियन कप छनोटको तयारीका लागि आज नेपाल सिंगापुरविरुद्ध भिड्दै

काठमाडौं : एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले आज सिंगापुरविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ।
सिंगापुर नेसनल स्टेडियममा हुने खेल शुक्रबार साँझ नेपाली समयअनुसार ६:१५ बजे हुनेछ। नेपाल र सिंगापुर सन् १९८९ पछि आमुन्नेसामुन्ने हुन लागेका हुन्।
सिंगापुर फिफा वरीयतामा १६०औं स्थानमा छ। नेपाल भने त्यसको ठ्याक्कै १५ स्थान तल छ। यद्यपि, पछिल्लो समय सिंगापुरको प्रदर्शन चित्तबुझ्दो छैन।
अघिल्लो वर्ष फिफा विश्वकप छनोटका चार, दुई मैत्रीपूर्ण खेल र आसियन च्याम्पियनसिप गरेर १२ खेल खेलेको थियो। तीमध्ये आठ हार बेहोरेको थियो भने दुई बराबरीमा र दुई खेलमा जितको स्वाद चाख्न पाएको थियो।
नेपालको हाल पनि सिंगापुरको जस्तै दैनिह छ। यही समयमा आठ खेल मात्रै खेल्न पाएको थियो। चार विश्वकप छनोट, दुई मैत्रीपूर्ण र दुई अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको नेपालको नतिजा निराशाजनक रह्यो।
यीमध्ये नेपालले जित निकालेको भनेको गत नोभेम्बरमा भएको अफगानिस्तानविरुद्ध मात्रै हो। उक्त खेलमा नेपाल २-० ले विजयी भएको थियो। यस्तै, विश्वकप छनोटमा नेपालले यमनलाई २-२ को बराबरीमा रोकेको थियो।
आजको खेल टेलिभिजनमा एक्सन स्पोर्ट्स एचडी र युट्युबमा एडीआर स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुनेछ।
चैत ८, २०८१ शुक्रबार १२:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।