६ करोड खर्च भएको मन्थलीको कवर्डहल बन्यो भुताहा घर

६ करोड खर्च भएको मन्थलीको कवर्डहल बन्यो भुताहा घर

रामेछाप : रामेछापको मन्थलीमा बहुउद्देश्यीय कवर्डहल बनाउन सुरु भएको ४ वर्ष बित्यो। तर अझैँ काम सकिएको छैन। २०७७ सालमा बन्न सुरु भएको कभर्ड हल अझैँ अलपत्रै छ।

मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा बनाउन सुरु भएको कवर्डहलको झन्डै ८० प्रतिशत काम सकिएको छ। तर निर्माण कम्पनीले बाँकी २० प्रतिशत काम गरेका छैनन्। अहिले  कवर्डहल भूत बङ्गला समान छ।

सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असारबाट कवर्डहल निर्माणको काम सुरु गरेको थियो। वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको ६ करोड, ५७ लाख, ९२ हजारको लागतमा सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोक मार्फत कवर्डहल निर्माणको ठेक्का लागेको थियो।

कवर्डहलको डिजाइन गर्दा नेपालकै सबैभन्दा अत्याधुनिक प्रविधियुक्त भन्दै कवर्डहलमा रिमोटबाट चल्ने अटोमेटिक चियर राखियो। त्यसका लागि २ करोड ८५ लाख रुपैयाँ तर निर्माण कम्पनीले सो काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लियो।

निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १ सय ८० वटा कुर्सी ल्याउन सकेन। कभर्ट हल नै अलपत्र पर्यो। निर्माण व्यवसायीले लामो समयदेखि काम छाडेपछि बनेका संरचना पनि बिग्रन थालेका छन्।

भवनका सिसा, टायल फुटाइएका छन्। बाथरुम, ट्वाइलेटहरू अस्तव्यस्त छन्। कवर्ड हल निर्माणको लागि अन्तिम पटक २०८० साल जेठ २७ गते  सम्मको लागि म्याद थप गरिएको थियो। अन्तिम पटकको लागि म्याद थप भएको झन्डै २ वर्ष हुन लाग्दा पनि काम सकिएको छैन। निर्माण कम्पनीमाथि कारबाही पनि भएको छैन।

चैत ८, २०८१ शुक्रबार १०:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।