नारायणघाट-बुटवल पूर्वखण्डमा ४७ किलोमिटर पिच, २२ पुल निर्माण

नारायणघाट-बुटवल पूर्वखण्डमा ४७ किलोमिटर पिच, २२ पुल निर्माण

नवलपरासी : पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल खण्डअन्तर्गतको पूर्वखण्डमा ४७ किलोमिटर सडक कालोपत्रे भएको छ। नारायणघाट बुटवल सडक आयोजना (पूर्व खण्ड) कार्यालयका अनुसार यो बाटोको भौतिक प्रगति ५८ दशमलव सात प्रतिशत पुगेको छ।

चार लेनमा विस्तार भइरहेको सडकमा गैँडाकोटतर्फ १६ किलोमिटर कालोपत्रे पूरा गरी देवचुली नगरपालिकामा धमाधम कालोपत्रे भइरहेको छ।

यो खण्डमा २२ वटा साना पुल निर्माण भएका छन्। निर्माण पूरा भएका पुलमा लिङ्करोड निर्माण पूरा नभएकाले पुलबाट यातायातका साधन सञ्चालन हुन समय लाग्ने कार्यालयका सूचना अधिकारी शिव खनालले बताए।

विनयी खोलाको पुल आगामी मनसुन अगाडि नै पूरा गर्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उनले बताए। केही हप्ता अगाडि अत्यधिक भारवहन गरेको ट्रकका कारण पुलमा क्षति भएपछि पथान्तरण गरेर सवारीसाधन सञ्चालन भइरहेका छन्।

सडक विस्तारको ठेक्का पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङका सह व्यवस्थापक राकेश झाले ४२ ठाउँमा सडक विस्तार जारी रहेको बताए।

‘हामीले सडक विस्तारसँगै पुल निर्माणमा जनशक्ति केन्द्रित गरेका छौँ’, उनले भने ‘सडक कालोपत्रे र पुल निर्माणसँगै कल्भर्ट, सब बेस, बेस, फिलिङ, ड्रेनेज, ग्याबीनलगायत ६५० भन्दा बढी कामदार परिचालन गरेर काम गरिरहेका छौँ।’

-रासस

चैत ८, २०८१ शुक्रबार ०९:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।