वनको हाइटेन्सनमुनि जडीबुटी खेती

वनको हाइटेन्सनमुनि जडीबुटी खेती

हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ठुला रूख काटिए। जहाँका रुख काटिए त्यहाँ वृक्षारोपण पनि हुन्न, जग्गा खाली नै राखिन्छ।

अनि सो क्षेत्रको महिला समूहले सामुदायिक वनको त्यही खाली जग्गाको उपयोगको रणनीति बनाए। समूह निर्माण गरेर जडीबुटी उत्पादन सुरु गरे। अहिले राम्रो प्रतिफल पाइरहेका छन्। पशुपति सामुदायिक वन उपभोक्ता समूहले लालीगुराँस जडीबुटी महिला आयआर्जन समूह बनाएर सामुदायिक वनको खाली जग्गामा खेती गराएको हो।

चम्पामाया परियार समूहकी अध्यक्ष हुन्। अध्यक्ष चम्पामाया बिहान सबेरै घरको काम सकेर सामुदायिक वन जान्छिन्। घरमा पालिएका गाई बाख्रालाई घाँसको व्यवस्था त्यहीँ हुन्छ। अनि हाइटेन्सनमुनीको खाली जग्गामा उनले अदुवा, बेसारसँगै सर्पगन्ध लगायतका जडीबुटी लगाएकी छिन्।

नौ वर्षअघि वनस्पति कार्यालयले उनलाई सर्पगन्धा दिएको थियो। त्यहीबाट उनले जडीबुटीको खेती सुरु गरेकी थिइन्। पछि उनले समूह नै बनाएर बेसार र अदुवा खेती समेत सुरु गरिन्। उत्पादन विक्री गर्न समस्या पनि छैन।

मकवानपुरको मकरीमा जन्मिएकी  परियारको पारिवारिक काम सिलाई हो। तर उनले सिलाइको काम सिक्न पाइनन्। दाइहरूले सिलाई सिके, उनी भान्छा र खेतीमा लागिन्। विवाहपछि पनि उनको जिम्मेवारी खेती नै आयो।

मकवानपुरको सरिखेतबाट मनहरिमा बसाइँ सरेर आइन्। प्रौढ शिक्षाबाट साक्षर भइन्।  सामुदायिक वनमा सदस्य बन्दा सुरुमा दलित महिला कोटाबाट अवसर पाइन्। अहिले समुदायकै नेतृत्व गरिरहेकी छिन्।

प्रारम्भमा उनले सानो लगानीबाट बाख्रा पालन सुरु गरिन्। सामुदायिक वनका कारण घाँसको समस्या भएन। प्रसारण लाइन लग्दा त्यहाँको ठुला रुख काट्नुपर्ने र त्यही ठाउँमा पुन रुख रोप्न नमिल्ला वनमा जग्गा बाँझो निस्कियो। बुट्यान मात्र भएको ठाउँमा वनमै हुने खेती गर्न मिल्ने थाहा पाएपछि उनी जडीबुटी खेतीतिर लागिन्।
पशुपति सामुदायिक वनमा जडीबुटी, डिपाट सामुदायिक वनमा प्राङ्गारिक मल र तेजपत्ता, सुनाचुरी सामुदायिक वनमा तेजपत्ता र कागती खेती हुने गरेको छ।

अञ्जली थापा/रासस      

चैत ८, २०८१ शुक्रबार ०९:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।