गौर हत्याकाण्डको अनुसन्धानमा छुटेका रामविश्वास र प्रविन

गौर हत्याकाण्डको अनुसन्धानमा छुटेका रामविश्वास र प्रविन
छोरा रामविश्वासको तस्बिर देखाउँदै उनको बुबा सकाई हजरा। तस्बिर : अमृत पुडासैनी

काठमाडौँ : २०६३ चैत्र ७। आजकै दिन रौतहट, गौरको राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीको राजनीतिक इगोका कारण गम्भीर आपराधिक घटना घट्छ, सामुहिक हत्या। एकै स्थानमा कार्यक्रम गर्ने अडानबाट शुरु भएको विवाद दुबै दलका कार्यकर्ता झडपमा उत्रिन्छन्। झडप अति हिंसात्मक हुन्छ।

लखेटी-लखेटी माओवादीका कार्यकर्ता मारिन्छन्। सरकारी तथ्याङ्क अनुसार सो झडपमा २७ जना मारिए, ५ महिला र २२ पुरुष।

प्रधानमन्त्रीदेखि मधेसका नेताहरूले बेलाबखत गौर घटनाबारे बोल्दा यही सङ्ख्या दोहोर्याउँछन्। तर उकेराको खोजबिनमा सो घटनामा २७ जना हैन २९ जना मारिएको देखियो। थप एक जना मारिएको तथ्यांक गृहको सूचीमा पनि छ। अर्का एकको नाम कतै छैन।

गौर घटनाका दिनदेखि प्रविन अन्सारी र रामविश्वास पासवान(विसाद) वेपत्ता छन्। उकेराकर्मीले गरेको स्थलगत अनुगमन, तत्कालीन समयमा झडपका जानकार र सरकारी विवरणहरू केलाउँदा वेपत्ता भनिएका प्रविन र रामविश्वास पनि सोही घटनामा मारिएको देखिन्छ। 

यी दुईमध्ये प्रविनको परिवार त नेपाल छाडेर भारतमा विस्थापित भइसकेका छन्। उनीहरूसँग सम्पर्क गर्ने प्रयास सफल हुन सकेन। रामविश्वासको परिवार नेपालमै भेटिए। विश्वासको बुबा आफ्नो छोरा पनि गौर घटनामै मारिएको बताउँछन्। तर तथ्यांकमा छैन उनको छोराको नाम।

उकेराले गृह मन्त्रालयले गौर घटनामा मारिएकाहरुबारे तयार पारेको प्रतिवेदन फेला पार्यो। सो प्रतिवेदनमा रामविश्वासको नाम मृतकको सूचिमा छ। विवरणमा उनी कहाँ मारिएको उल्लेख भने छैन। उनको शव पनि फेला परेन। परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गर्यो।

नेपालस्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार सम्बन्धी कार्यालयको प्रतिवेदनमा भने रामविश्वास र प्रविनको समेत नाम छ। तर तत्कालीन प्रतिवेदनमा दुवै वेपत्ता भनेर उल्लेख छ। तर राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा भने उनीहरुबारे केही उल्लेख छैन। मृतकको सङ्ख्या २७ नै उल्लेख छ। घटनाका घाइतेहरूको सूचीमा पनि उनीहरूको नाम छैन।

उकेराकर्मी रौतहट सोनरनिया ८, मौलापुरमा रहेको पासवानको घरमा पुग्दा उनको बुबा सकाई हजरा भेटिए। उनले आफ्नो छोरा माओवादीमा संलग्न रहेको र गौरमा गएदेखि बेपत्ता भएको बताए।

‘मेरो जेठो छोरा थियो रामविश्वास। उ माओवादीमा संलग्न थियो। शान्ति भइसकेपछि गौर कार्यक्रममा जाने भनेर घरबाट हिँडेको थियो। गौरमा घटना भएछ। उ घर फर्किएन। बेलुका गाउँलेहरूले छोरा गौर घटनामा परेको बताए’ उनले उकेरासँग भने।

गौर घटनामा भत्काइएको मञ्च।उनले त्यो बेला गौरमा जाने अवस्था नै नभएकाले छोराबारे खोज्न पनि नसकेको बताए। कुर्दा छोरा पनि आएन। शव पनि फेला परेन। अनि कुशको शव बनाएर छोराको दाहसंस्कार गरेको उनले खुलाए।

‘गौर काण्डपछि तत्काल त्यहाँ जाने अवस्था नै थिएन। कर्फ्यु लागेको थियो। पछि जाँदा छोरा भेटिएन। अनि २ महिनापछि कुशको शव बनाएर काजकिरिया गरेँ’ उनले भने।

२०८० साउन १८ मा गौर हत्याकाण्डको छानबिनको माग गर्दै चन्द्रनिगाहपुरमा आन्दोलन भयो। सकाई हजरा पासवान पनि आन्दोलनमा सहभागी भएको मौलापुरका स्थानीय तथा गौर घटनाका घाइते मनोज यादव (रञ्जित) ले बताए।

‘हामीले चन्द्रनिगाहपुरमा गएर आन्दोलन समेत गरेका थियौँ। राम विश्वासको बुवा पनि गएका थिए’ उनले भने।

माओवादी केन्द्र, मधेस प्रदेश सदस्य र तत्कालीन समयका जनसरकार प्रमुख विन्देश्वर यादवले गौर घटनामा २७ नभई २९ जना मारिएको दाबी गरे।

‘त्यो बेलामा हामीले गौर घटनामा मारिएका २९ जनाको नाम लिस्ट पठाएको थियौँ। रामविश्वास पासवान(विसाद) को समेत मृत्यु भएको हो’ उनले भने। उनले प्रहरी पासवानको घरमा  गएर मुचुल्का उठाएको समेत बताए।

‘घटना हुदाँ रामकुमार खनाल एसपी थिए। उनीपछि आएका एसपीको नाम बिर्सिएँ। उनले एक जना इन्स्पेक्टर र असईसँग मलाई पासवानको घर जान आग्रह गरेका थिए। म गएको पनि थिएँ। मुचुल्का उठाएको पनि हो’ उनले भने।

गृहको रेकर्ड  'चैत ७ मा मारिए पासवान'

गौर घटना २०६३ चैत ७ मा भएको थियो। उकेराले फेला पारेको गृहको प्रतिवेदनमा पासवान चैत ७ मै मारिएको उल्लेख छ। उनको ठेगाना रौतहट सोनरनिया नै उल्लेख छ।

गृहको प्रतिवेदनमा रामविश्वास पासवानको मृत्यु भएको स्थान उल्लेख छैन। केवल मिति मात्र उल्लेख छ। अन्य मृतकका परिवारलाई सरकारले १० लाखसम्म राहत दियो। तर रामविश्वासको परिवारले राहत पनि पाएको देखिएन।

गौर घटनामा हराएको व्यक्तिहरूको सूची खोज्नेक्रममा उकेराले मानव अधिकार सम्बन्धी राष्ट्रसंघीय मानव अधिकार उच्च आयोगको प्रतिवेदन फेला पार्यो। २००७ अप्रिलमा तयार पारेको प्रतिवेदनमा भने यी दुवैको नाम छ, तर बेपत्ता भनेर।

मानवअधिकार अयोग प्रतिनिधि भने गौर घटनामा २७ जनाको मात्रै मृत्यु भएको रेकर्ड आफूहरूले प्राप्त गरेको बताउँछन्। तत्कालीन समयमा गौर घटनाको छानबिनमा संलग्न एक अधिकारीले उकेरासँग नाम उल्लेख गर्न चाहेनन्। तर घटनाको धेरैपछिसम्म पनि शवहरु फेला परेको सुनेको तर घटनास्थल जान नसकेको बताए।

‘हामीले प्रहरी रेकर्डबाटै नाम ल्याउने हो। त्यो रेकर्डमा २७ जनाको मृत्यु भएको देखिन्छ। हराएको मान्छेको नाम उल्लेख छैन। त्यहाँ त्यो बेलामा थप बुझ्नने अनि खोजबिन गर्ने अवस्था नै थिएन’ उनले उकेरासँग भने।

रौतहटमा भेटिएका माओवादी केन्द्रका जिल्ला नेता अशोक जयसवालले पनि गौर घटनामा माओवादीका २९ जना मारिएको दाबी गरे। तर प्रविन अन्सारी र रामविश्वास पासवानको नामै नपरेको उनले बताए।

स्थानीय राजेश कुमार साहले पनि उकेराकर्मीसँग कुरा गर्दै घटनाको बेलामा गौँबारीमा समेत झडप भएको र पछि गहुँ काट्दा शव समेत भेटिएको दाबी गरे।

घटना भएको स्थानबाट १ किलोमिटर परको हजमुनिया बस्ने विन्दादेवी साह(कानु) ले पनि गौर घटनाको पछिसम्म पनि सो क्षेत्रमा शव भेटिएको बताइन्। यी दुबैको दाबी अनुसार घटनापछि शवहरु फेला परेको सरकारी रेकर्ड भने कतै भेटिएन।

जिल्ला प्रहरी कार्यालय रौतहटमा गौर घटनाको विवरण माग्दा प्रहरीले अनुसन्धानमा रहेको विषय भनेर हेर्न दिएन। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी दीपक कुमार रायले भने, ‘अनुसन्धानकै चरणमा रहेकोले तपाईँलाई हेर्न दिन मिल्दैन। त्यो घटना निकै संम्वेदनशिल हो। तपाईँलाई हेर्न दिँदा त्यही लेखिदिनु भयो भने, भोली मान्छे भड्किन पनि सक्छन्। त्यसैले सुरक्षाको हिसाबले दिन मिल्दैन।’

१८ वर्ष सकिँदा पनि नसुल्झिएको घटना

एकै चौरको दायाँ र बायाँ मञ्च बनाएर एकै दिन कार्यक्रम गर्न खोज्दा २०६३ चैत्र ७ मा यो हत्याकान्ड मच्चिएको थियो। घटनास्थल शव र घाइतेहरुले भरिएका थिए। अति हिंसात्मक थियो त्यो घटना।

घटनापछि त्यसको छानबिन गर्न तत्कालीन पुनरावेदन अदालत पाटनका न्यायाधीश हरिप्रसाद घिमिरेको अध्यक्षतामा चैत्र ९ मै जाँचबुझ आयोग समेत बनेको थियो। जाँचबुझ आयोगले घटना नियोजित र योजनाबद्ध, मानवयुक्त जघन्य र क्रूर भएको तर मुद्दा चलाउनु पर्नेमा निष्क्रिय रहेको उल्लेख गर्दै तत्कालीन मुद्दा सम्बन्धी ऐन २०४९ बमोजिम शीघ्र मुद्दा चलाउन सिफारिस गरेको देखिन्छ। तर प्रतिवेदन सार्वजनिक भएको छैन।

प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै पीडित परिवारले २०८० जेठ २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए। यो पनि विचाराधीनै छ। टुंगिएको छैन।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीहुँदा २०८० साउन ३० मा गौर घटनाका पीडितले सङ्घर्ष समिति बनाएर आन्दोलन गरेका थिए। सरकारले वार्तामा बोलाएर पाँच बुँदे सहमति पनि गर्यो।

राइस मिल क्षेत्र र राष्ट्र संघीय नियोगको सूचीमा बेपत्तामा दुई जनाको नाम।सहमतिमा घटनाको छानबिन गरेर दोषीलाई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने, घाइतेहरूको उपचार र आर्थिक सहायताका लागि अनुरोध गर्ने, घटनामा मृत्यु भएकाहरूको शहीद स्मारक स्तम्भ बनाउने लगायत बुँदा समावेश थिए। तर ती कुनै पनि बुँदा कार्यान्वयन भएन।

पीडितहरूले घटनामा संलग्नहरूमाथि छानबिनको माग गर्दै २०६४ बैंशाख २८ मा प्रहरीमा किटानी जाहेरी समेत दिएका थिए। तर सो जाहेरीमाथिको अनुसन्धान अझैँ सकिएको छैन। प्रहरी छानबिन जारी रहेको मात्र जवाफ दिन्छ।

तत्कालीन समयमा माओवादीमा रहेका प्रभु साहले हरेक वर्ष गौर घटनाको छानबिनको माग गरिरहन्छन्। अहिले आम जनता पार्टीका अध्यक्ष रहेका साहले बिहीबार पनि संसद्मा गौर हत्याकाण्डका योजनाकार तथा हत्यारालाई कारबाही हुनुपर्ने माग राखे।

तर तत्काल  छानबिन हुने सम्भावना देखिन्न।

चैत ७, २०८१ बिहीबार २२:४२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।