सरकारले चाहे दरबार हत्याकाण्ड छानबिन गर्ने आधार छन्, तर मात्र धम्क्याउँछन्

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह समर्थकसहित रोड परेडमा निस्किए लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई राजदरबार हत्याकाण्डको योजनाकारका रूपमा प्रस्तुत गरे।
उनले सार्वजनिक कार्यक्रममै राजा वीरेन्द्रको परिवारका सबै सदस्य र आफन्त मारिने गरि भएको घटनामा ज्ञानेन्द्रलाई जोडे।
दरबार हत्याकाण्डमा ज्ञानेन्द्रको परिवारमा कुनै क्षति नहुनु, उनी घटनाको दिन काठमाडौँमा नभएर पोखरामा हुनु लगायतकालाई जोडेर वीरेन्द्रको परिवार सखाप पर्ने घटनामा ज्ञानेन्द्र जोडिँदै आएका छन्।
त्यसैमा जोडिए प्रधानमन्त्री केपी ओली समेत। उनले बिहीबार एक कार्यक्रममा दरबार हत्याकाण्डको प्रसङ्ग उठाउँदै सत्ता हत्या षड्यन्त्र गरिएको दाबी गरे।
वीरेन्द्रसँगै दीपेन्द्रको समेत मृत्यु भएपछि ज्ञानेन्द्र राजा भएका थिए। उनी राजा भएको केही महिनापछि प्रत्यक्ष शासन सुरु गरेका थिए।
काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले तत्कालीन राजा वीरेन्द्रको परिवार हत्या गरी शासन सत्ता कब्जा गरिएको आरोप लगाए।
उनले नेपालमा लोकतान्त्रिक व्यवस्थामाथि कुनै पनि किसिमको उथलपुथल सम्भव नभएको तर्क गर्दै अहिले नेपाली जनता सचेत रहेको र लोकतन्त्रलाई व्यवहारिक रूपमा अझै सुदृढ बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए।
फागुन २५ मा पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्कँदा त्रिभुवन विमानस्थलबाट महाराजगन्जको शीतल निवाससम्म प्रदर्शन भएका थिए। समर्थकहरूलाई अभिवादन गर्दै ज्ञानेन्द्र रोड परेड शैलीमा शितलनिवास छिरेका थिए।
उनले सो दिनको दृश्यप्रति कटाक्ष गर्दै लोकतन्त्र हटाउन खोज्ने प्रयास सफल नहुने तर्क गर्दै संविधान विपरीत अराजकता फैलाउने तत्त्वहरूलाई नेपाली जनताले स्वीकार नगर्ने बताए।
दरबार हत्याकाण्डमा किन जोडिन्छन् ज्ञानेन्द्र!
अहिले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड अनि प्रधानमन्त्री नै रहेका ओलीले ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डको योजनाकारका रूपमा प्रस्तुत गरे पनि पुष्टि गर्ने तहको प्रमाण भने सार्वजनिक भएको छैन।
घटनाको दिन ज्ञानेन्द्र पोखरामा थिए। सो दिन त्रिभुवन सदनमा भएको भेलामा सहभागी पारस शाहमाथि केही भएन। कोमल शाह भने घाइते भइन्।
घटनामा वीरेन्द्रसँगै राजगद्दीका सबै उत्तराधिकारी मारिए। ज्ञानेन्द्र राजा भए। यसले आफू राजा हुन ज्ञानेन्द्रले नै हत्याकाण्ड गराएको शङ्काहरू बढे।
छानबिन भयो। समितिको प्रतिवेदनको निष्कर्षमा दरबार हत्याकाण्डको कारक देखाइयो दीपेन्द्रलाई। तर सर्वसाधारणले यो तर्कलाई स्वीकार गर्न सकेनन्।
मृतक कसैको पोस्टमार्टम भएन। त्यतिकै जलाइयो। दीपेन्द्रले आत्महत्या गरेका हुन् या उनलाई अन्य कसैले गोली हानेको हो? विश्वसनीय तथ्य सार्वजनिक भएनन्।
जब ज्ञानेन्द्र राजा भए उनले दरबार हत्याकाण्डसँग जोडिएको त्रिभुवन सदन भत्काउन लगाए। यसले उनले प्रमाण नष्ट गराएको सन्देश गयो।
दलका नेताहरूसँगै आम नागरिकले पनि उनलाई शङ्काको नजरले हेरे। गणतन्त्रको घोषणा भएर नारायणहिटी छाड्ने दिन १५ मिनेटको पत्रकार सम्मेलनमा समेत ज्ञानेन्द्रले दरबार हत्याकाण्डमा आफू संलग्न नभए पनि आरोप लगाउने काम भएको भन्दै दुखेसो पोखेका थिए।
यो बिचमा सरकारको नेतृत्व गर्ने कुनै दलले पनि दरबार हत्याकाण्डबारे विस्तृत र विश्वसनीय अनुसन्धान गराउन सकेन। ज्ञानेन्द्रमाथिको आरोप त मेटिएन तर फिक्का भने हुँदै गयो।
सरकारले चाहे अझै पनि अनुसन्धान गराउन सक्छ। तर प्रधानमन्त्री तहबाटै छानबिनको साटो सार्वजनिक मञ्चबाट पुरानै शैलीमा ज्ञानेन्द्रमाथि आरोप लगाएरै चित्त बुझाएर बसेका छन्।
अनुसन्धान हुनसक्ने आधार छन्
सरकारले चाहेमा अझैँ पनि दरबार हत्याकाण्डबारे अनुसन्धान गर्न सक्छ। त्यसका आधारहरू पनि छन्। तर छानबिनमा चासो देखिँदैन। जब जब पूर्व राजा ज्ञानेन्द्र अनि उनका समर्थक सक्रिय हुन्छन् अनि सत्ताधारी र प्रतिपक्षीहरू सार्वजनिक मञ्चबाट आरोपमै सीमित हुन्छन्।
अनुसन्धान गर्न सकिने केही आधार यस्ता छन् :
१. चिकित्सकीय प्रतिवेदन
घटनाको मुख्य प्रमाण मृतकहरूको पोस्टमार्टम हुने भए पनि पोस्टमार्टम गरिएन। पोस्टमार्टम नभए पनि उपचारका क्रमका मेडिकल रिपोर्टको आधारमा मृत्युको सम्भावित कारण थाहा हुनसक्छ। सबै मेडिकल रिपोर्ट सुरक्षित छ या छैन? मुख्य प्रश्न यही हो।
२ देवयानीको पुनः बयान
दरबार हत्याकाण्डमा जोडिएकी एक पात्र देवयानी राणा लगायत घटनाका प्रत्यक्षदर्शीहरूसँग पुन बयान लिन सकिन्छ। जसको आधारमा अनुसन्धान अगाडि बढाउन सकिन्छ नै।
३. घटनास्थलको तस्बिर र दृश्य
घटना भएको स्थान त्रिभुवन सदन भत्काइए पनि छानबिनको समयमा समितिले खिचेको घटनास्थलको तस्बिर र दृश्यका आधारमा समेत अनुसन्धानका अनुभवीले अनुसन्धान गर्न सक्छन्। नेपाल प्रहरीका पूर्व एसपी शेरबहादुर कार्कीले तस्बिर र भिडियो खिचेका थिए।
४ त्रिभुवन सदनको पुनर्निर्माण
दरबार हत्याकाण्ड नारायणहिटी भित्रको त्रिभुवन सदनमा भएको थियो। ज्ञानेन्द्र शाह राजा भएपछि उनले सो सदन भत्काउन लगाए पनि त्यसको पुनर्संरचना गर्न सकिन्छ।
५ मुचुल्का र बयान
घटनास्थलको भौतिक वस्तुको विधि विज्ञान परीक्षण, उपचार गराउँदाको अवस्थाको घाउ चोटको स्थिति र मृत्युको कारण लगायत दस्ताबेज सुरक्षित देखिन्छ। त्यसको विश्लेषणका आधारमा समेत अनुसन्धानलाई अगाडि बढाउन सकिन्छ।
चैत ७, २०८१ बिहीबार २१:४५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।