प्रतिनिधिसभाबाट पास भयो निजीकरण सम्बन्धी विधेयक

काठमाडौँ : प्रतिनिधिसभाबाट ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१’ पारित भएको छ । बिहीबारको बैठकबाट सो विधेयक बहुमतले पारित भएको हो।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘निजीकरण (पहिलो संशोधन विधेयक),२०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गरेका थिए।
विधेयकमाथिको दफावार छलफलमा सहभागी संशोधनकर्ताहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले निजीकरणलाई निर्विकल्प बनाउन नहुने बताएका थिए। उनले कमजोर क्षमतामा चलेका, रुग्ण र बन्द रहेका सार्वजनिक प्रतिष्ठानहरूलाई प्रभावकारी ढङ्गमा सञ्चालन गर्न निजीकरणलाई एक मात्र विकल्पका रूपमा लिन नहुने तर्क गरेका थिए।
प्रतिपक्षी दलका सांसदहरूले देशको अर्थतन्त्रलाई प्रस्तुत विधेयकले सम्बोधन गर्न, विकास एवं सुशासन तथा सामाजिक न्याय सुनिश्चित गर्न नसक्ने टिप्पणी गरेका थिए।
सांसदहरू शक्तिबहादुर बस्नेत, चन्दा कार्की, देवेन्द्र पौडेल, जनार्दन शर्मा, प्रेम सुवाल लेखनाथ दाहाल, विमला सुवेदी, निशा डाँगी, लक्ष्मी तिवारी, नारायणी शर्मा, रामकुमार राई, ज्ञानु बस्नेत सुवेदी, छिरिङडम्डुल लामा, दुर्गा राई, मनिष झा, चित्रबहादुर केसी, हितबहादुर तामाङ, गङ्गा कार्की, उर्मिला माझी र माधव सापकोटाले विधेयकमा संशोधन पेस गरे पनि संशोधन प्रस्ताव पास भएन।
चैत ७, २०८१ बिहीबार २०:३५:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।