स्ववियु निर्वाचन परिणामबाट हौसिए प्रचण्ड, भन्छन् ‘एक्लै चुनाव जित्ने आधार बन्यो’

स्ववियु निर्वाचन परिणामबाट हौसिए प्रचण्ड, भन्छन् ‘एक्लै चुनाव जित्ने आधार बन्यो’

बारा : मंगलबार भएको स्ववियु निर्वाचनको परिणामबाट हौसिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एक्लै चुनाव जित्ने आधार बलियो बनेको बताए।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत बारामा आयोजित मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले कहिले कांग्रेस त कहिले एमालेसँग मिलेर चुनाव लड्दा उनीहरूले फाइदा लिएको तर माओवादीले घाटा व्यहोरेको तर्क गरेका थिए।

‘अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको छ’ उनले भने।

चैत ५ मा मतदान भएका क्याम्पसहरूमध्ये बिहीबार बेलुकासम्म सार्वजनिक परिणाम माओवादीको अखिल  क्रान्तिकारी तेस्रो स्थानमा छ।

नेपाली कांग्रेसको नेविसंघ १५ आंगिकसहित १ सय १९, एमालेको अनेरास्ववियुले ११ वटा आंगिकसहित ९७ र अखिल क्रान्तिकारीले ८ वटा आंगिकसहित ८४ वटा क्याम्पसमा जितेको दाबी सार्वजनिक भएको छ।

त्रिविको ६२ आंगिकमध्ये ३९ वटा क्याम्पसमा मात्रै निर्वाचन भएको थियो। विविध विवादले बाँकी १५ वटामा निर्वाचन भएको छैन।

बिहीबार प्रचण्डले यही नतिजालाई उदाहरण दिँदै गत मंसिरको उपनिर्वाचन हुँदै भर्खरै सम्पन्न स्ववियु निर्वाचनसम्म आइपुग्दा माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गएको बताए।

‘कसैको वैशाखी नटेकेर माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भएको छ,’ उनले भने।

गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादी विरुद्ध लड्दा पनि धेरै ठाउँमा जितेको उनले बताए।

स्ववियु निर्वाचन आउँदा पनि कांग्रेस र एमाले समर्थित विद्यार्थी सङ्गठनहरू मिलेर चुनाव लडेको तर माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको उनको दाबी छ।

चैत ७, २०८१ बिहीबार १९:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।