बारीको च्याउ विषालु हुँदा १० बिरामी, दुई जनाको मृत्यु

बारीको च्याउ विषालु हुँदा १० बिरामी, दुई जनाको मृत्यु

तनहुँ : बारीमा उम्रिएको विषालु च्याउ खाँदा बिरामी भएका १० जनामध्ये तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको मृत्यु भएको हो।

गत आइतबार च्याउ खाएर सख्त बिरामी भएका बालकको बुधवार साँझ शिक्षण अस्पताल काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। थापाका अनुसार च्याउ खाएर मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यसअघि सोमबार उपचारकै क्रममा सोही वडाका ३० वर्षीय नारायण मगरको मृत्यु भएको थियो।

मगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मङ्गलबार मृत्यु भएको थियो। प्रदेश अस्पताल दमौलीमा प्राथमिक उपचारपछि बालकलाई शनिवार साँझ गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको थियो।

बिरामी भएकामध्ये आठ जना प्रदेश अस्पताल दमौलीमा उपचार पश्चात् घर फर्किएका छन्। जिल्लाको म्याग्दे–६ सर्वलाङबाट बारीमा उम्रिएको च्याउ व्यास नगरपालिका–६ शान्तिटोल निवासी ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा ल्याइ पकाएर खाँदा उनीहरू बिरामी भएका हुन् । 

उनीहरूमा बान्ता हुने, पखाला लाग्ने, रिँगटा लाग्ने लक्षण देखिएको थियो। उक्त लक्षण नरोकिएपछि गम्भीर प्रकृतिका दुई जनालाई थप उपचारका लागि पोखरा र काठमाडौँ लगिएको थियो।

चैत ७, २०८१ बिहीबार १८:४१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।