अमेरिकी संस्थाको सहयोगमा ब्रेनस्ट्रोको औषधी निःशुल्क, तीन सरकारी अस्पतालमा मात्र पाइने

काठमाडौँ : अमेरिकी संस्थाको सहयोगमा मस्तिष्क पक्षाघात (ब्रेनस्ट्रोक) का बिरामीले तीन सरकारी अस्पतालबाट निःशुल्क औषधि पाउने भएका छन्। अमेरिकी दातृ संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र नेपालको ‘वन हर्ट वल्र्डवाइड’ को सहजीकरण औषधि उपलब्ध भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर प्रारम्भिक चरणमा वीर, त्रिवि शिक्षण र भरतपुर अस्पतालमा यी औषधि उपलब्ध हुने जानकारी दियो।
औषधि हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मस्तिष्क पक्षघातमा आवश्यक पर्ने महँगो औषधि उपलब्ध गराएकामा संस्थालाई धन्यवाद दिए। महंगो भएकाले यो औषधि राज्य कोषबाट किनेर आवश्यक पर्नेलाई उपलब्ध गराउन गाह्रो काम रहेको भन्दै उनले आवश्यकताअनुसार अरू अस्पतालमा पनि वितरण गर्ने लक्ष्य राखेको र दातृ संस्थासँग अरू महँगा औषधि पनि माग गरेको बताए।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा निर्देशक डा पवनजङ्ग रायमाझीले मस्तिष्क पक्षघातमा अत्यावश्यक र ज्यान जोगाउन सकिने औषधि प्राप्त भएको बताए। उनका अनुसार ८ सय भाइल ‘अल्टिप्लेस’ औषधि उपलब्ध भएको हो।
‘मस्तिष्कमा रहेका रक्तनलीमा अकस्मात् रगत जम्दाखेरी मस्तिष्क पक्षाघात हुने सम्भावना हुन्छ। यदि यस्तो व्यक्तिमा साढे चार घण्टाभित्र यो औषधि प्रयोग गर्न सकेमा बिरामीको ज्यान जोगिन्छ’ उनले भने।
डा रायमाझीका अनुसार यो औषधि एक भाइलमा २० मिलिग्राम हुने र एउटै भाइलको ७० हजार पर्छ। यो औषधि प्रयोग गर्न दक्ष स्वास्थ्यकर्मी (न्युरोलोजिस्ट) आवश्यकता पर्छ। त्यसैले सुरुआती चरणमा तीन वटा अस्पतालमा दिन लागेको उनले बताए।
चैत ७, २०८१ बिहीबार १८:१४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।