दशौं तहका डा. यादवलाई गेटा अस्पतालको प्रमुखको जिम्मेवारी

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कैलालीको गेटा अस्पतालमा दशौं तहका डा. प्रमोदकुमार यादवलाई प्रमुखको जिम्मेवारी दिएका छन्।
मन्त्रालय स्रोतका अनुसार बिहीबारको स्वास्थ्य सचिव स्तरीय निर्णय अनुसार डा. यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएर गेटा पठाइएको हो। यसअघि गेटाको निर्देशक ११औं तहका डा. अशोक श्रीपाइली थिए।
स्वास्थ्यमन्त्री पौडेलले उनलाई कात्तिक २३ मा गेटाको निर्देशकको जिम्मेवारी दिएका थिए। तर, ११औं तहका डा. श्रीपाइलीले जिम्मेवारी सम्हालेको करिब ११ हप्तामै निर्देशकको जिम्मेवारीबाट हटाइदिन अनुरोध गर्दै स्वास्थ्य मन्त्री पौडेललाई राजीनामा बुझाएका थिए।
मन्त्रालयमा निर्देशक पदबाट राजीनामा दिँदै प्रदेश अन्तर्गतको सेती अस्पतालमा नै खटाइदिन उनले अनुरोध गरेका थिए। माघ ६ मा उनले दिएको राजीनामा करिब एक महिनाअघि स्वीकृत भएर डा. श्रीपाइले सेती अस्पतालमा नै फर्किएको मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनी सेती फर्किएपछि गेटाको निर्देशक पद खाली थियो।
त्यसैले स्वास्थ्य मन्त्री पौडेलको निर्देशन अनुसार मन्त्रालयले डा. यादवलाई गेटाको निमित्त निर्देशकमा पठाएको हो।
डा. यादव वीर अस्पतालमा कार्यरत छन्। राष्ट्रिय ट्रमा सेन्टरको तीन पटक प्रमुख भएका डा. यादव जनकपुर प्रादेशिक अस्पताल, मोरङको रंगेली अस्पताल, रामेछाप जिल्ला स्वास्थ्यको प्रमुख भएका थिए।
डा. श्रीपाइली अघि गेटाको प्रमुख डा. विप्लव सापकोटा थिए। गत वर्ष गेटाले पाएको करिब ८० मध्ये ७० करोडको सामग्री खरिद भएको थियो। अधिकांश खरिद मिलेमतोमा नै भएका थिए।
यो वर्षका लागि खरिद गर्न छुट्टाएको ४० करोडको खरिद प्रक्रिया पनि आफू अनुकूल गराउन मन्त्रालयबाट निरन्तर दबाब बढेपछि फस्नु भन्दा सरुवा नै ठिक भनेर डा. श्रीपाइलीले राजीनामा दिएको विषयमा यस अघि नै उकेराले समाचार सप्रेषण गरेको छ।
चैत ७, २०८१ बिहीबार १४:०३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।